मुख्य पृष्ठ » कविता » हजुरबा र आँगनको नीम

हजुरबा र आँगनको नीम

bool(false)

आँगनको बूढो नीम सुक्न थालेपछि एक दिन
वर्षौँदेखि मतानमा थन्किएका केही थान बन्चरा
आँगनमा ओर्लिए ।
यौवनको उन्मादले मदमस्त केही जोर तन्नेरी हातहरू
अग्रसर भए
र नीमको फेदमा एउटा वीभत्स तयारी सुरु भयो ।

नीमजस्तै पुराना हजुरबा आँगनमा आइपुगे
नीमजस्तै तीतो अर्तिको सञ्जीवनी लिएर
नीमको बोक्रोजस्तै निधारमा कोरिएका अनुभवकथा
त्यसको जरोजस्तो बलियो विरासत
र त्यसको जीउजस्तै जीर्ण काया लिएर ।

आँगनमा ढल्यो बूढो नीम गर्लम्म
जवानहरूको अप्रतीम तरुणाइको बलमा
गुञ्जियो प्रलयको एउटा कर्कश ध्वनि
नीमसँगै ढल्यो चराहरूको एउटा विपुल सभ्यता
जहाँबाट हराएर गए
सुन्न बाँकी अनेक नयाँ हृदय गीतहरू
झ्याउँकिरीहरूको गोधुली सङ्गीत
सितलताको एउटा अविछिन्न सिलसिला
त्यो घर र त्यसमा हुर्किएका जिन्दगीको एउटा पुरातन साक्षी
एउटा सह, एउटा शान,
एउटा छहारी, एउटा मान,
एउटा टेक्ने आधार, एउटा त्राण ।

बसाइँ सरे
थानका थान शिशु कविताहरू
केही लोकधुनका सुमधुर बान्की
साँझको घाम सुस्ताउने केही प्राचीन हाँगा
रातको जूनको एउटा विश्रामस्थल
ताराहरूको बारम्बारको लुकामारी
पश्चिमेली हावाको कुस्ती–सखा
एउटा बूढो हरियाली,
एउटा कथा ।

आँगनको बूढो रुख काटिएपछि —
त्यसै रुखको हाँगाको लौरो टेक्दै
उकालो लागेका हजुरबा
कहिल्यै फर्केनन् ।
उनी आफैँ एउटा नीम बने
आफू एउटा हिमाल बने ।
भन्थे, “एकै हौँ, हामी एकै हौँ
यी रूख, यी पहाड र हामी — एकै हौँ ।”

घरमा —
रोइरहेको एउटा सभ्यताबाटको भग्नावशेषबाट
हराएर गयो एउटा धुन
उडेर गयो एउटा रङ
छुट्यो कतै मैदानमा
युद्ध जित्ने एउटा ओजस्वी हतियार
जिन्दगीको एउटा गहिरो सार ।

किन देखिरहन्छन् सबै अचेल
काटिएको नीमको ठूटोमाथि
हराएका हजुरबाको छाया?
जिन्दगीले यात्राको किनार टेक्न लाग्दा
किन लाग्छ सबैलाई
हजुरबाजस्तै नीमको माया?
नीमजस्तै हजुरबाको माया?
किन गाउँछन् बच्चाहरू गीत —
“हातैमा जे धुलो झरेपछि त्यै सुनको फूल?”

अचेल उनीहरूको बैठक
किन घरबाट नीमको ठुटोतिर बसाइँ सरेको छ ?

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस