मुख्य पृष्ठ » कविता » देश दुखेको बेला

देश दुखेको बेला

भ्रष्टाचार अभियोगको हथ्कडी

नेताहरुको हात समाउदै

कारागारसम्म पुऱ्याइ राख्छन्

अनि प...र पुगेर खुइय गर्छ

देश दुखेको बेला ।

 

निर्निमेष हेरिरहेका

स्वयम्भूका दुई आँखाहरु

रगतका आँसु थाम्न नसकी

लोडशेडिङ्‌को अँध्यारो रातमा

चुपचाप चुपचाप रोइ बस्छन्


एकान्तमा सबै साथीहरुबाट छोडिएको अवस्थामा

एक्लै धक फुकाएर रोइबस्न

अर्थपूर्ण हुँदोरहेछ

मन हल्का हुनेरहेछ ।

 

आमा अस्पतालमा थिइन्

सिकिस्त थिइन बेडमा

'मेरो त सास उभै रोकिन खोज्छ बाँच्दिन होला '

मेरो गला भरेर आउँछ

सम्झेर ल्याउँदा त्यो दिन

डाँको छोडेर रुन पनि कति गाह्रो

देश दुखेको बेला ।

 

छोराहरु परदेशमा छन्

नेताहरु जेलमा

डाक्टरहरु

अर्कै इमर्जेन्सीमा खटिरहेका छन्

सबैलाई भ्याइनसक्नु छ

अस्त ब्यस्त सर्वत्र

गुहार पाउनै गाह्रो छ

देश दुखेको बेला ।

 

नयाँ नयाँ प्रविधिहरु आए

डाक्टरहरुका डाक्टर आए

तर रोगहरु

झन् झन् नयाँ अनुहारमा देखिन्छन्

ढुकुटी जति रित्तिसक्यो

अल्पकालिन र दीर्घकालिन

बजेटको नाउमा

तर पनि

रोगको पहिचान छैन

पहिचान भए पनि

उपचार छैन

शायद जिउनु भनेकै दुख्नु हो कि ?

देश दुखेको बेला ।

 

उमेर नपुग्दै फुल्न थालेका

एकदुईवटा सेता कपालहरु

केशराशीमै कतै हराउँछन्

कतै लुकिबस्छन्

सेतो उखेल्दा कालो दुख्छ

देश दुखेको बेला ।

 

हेप्नसम्म हेपिएका

सार्वजनिक शौचालयहरु

माया पाउन नसकेका

सडकछेउका कन्टेनरहरु

केराजति खाएर

फ्याँकिएका बोक्राहरु

मिठाइका खोस्टाहरु

पोलिथिनका ब्यागहरु

समाजवाद खोजिहिड्छन्

हिड्दै गरेका भलाद्‌मी आँखाहरुमा

माक्‍सवाद मागिबस्छन्

धेरैलाई शहिद बनाउने

झुठा रणनीतिहरुमा

अचम्म !

यता शहर गन्हाएर

हिडिनसक्नु भएको बेला

एउटा चर्को नारा घन्क्यो -

'हाम्रो माग पूरा नभएसम्म

फोहोर उठाउन दिदैनौं ! '

राल-सिङान-खकार-गोबरबाट

एकहुल किटाणु निस्केर

सडकमा चक्काजाम गरे

किटाणुहरु राजनीतिमा पसेछन्

देश दुखेको बेला ।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू