मुख्य पृष्ठ » कविता » म नै सिंगो देश हुँ, महोदय !

म नै सिंगो देश हुँ, महोदय !

महोदय,
तपाईं देख्न सक्नुहुन्न
मैले सगरमाथा लाई शिरमा लगाएको छु
जहाँ पासाङ्ग ल्हामु र तेन्जिंगहरु
फहराई रहेछन्
मेरो देशको झण्डा !


मेरै छातीमा सजाएको छु पहाडहरु,
जहाँ गुराँसहरु रातै फुलेका छन् ,
यहि छातीमा अटाएको छु सिंगो तराइ,
जहाँ लहलह झुलेका छन्
श्रमका वाला हरु
मेरो मानसपटलमा
अझै जीवित छन् ,
अमरसिंह अनि भीमसेन हरु
कम्मरमा खुकुरी भिरेर
छाती फुलाई उभिएका छन्
मेरो देशको सिमानामा
हजारौं गंगालालहरु
मुस्कुराई रहेछन् मेरो हृदयमा
त्यहीं नेर तपस्यामा छन् गौतम बुद्ध
त्यहीं बाट एकता पढाइ रहेछन् पृथ्वी
त्यहीं खेल्दै छन् स-साना नानीहरु
ओठमा मुस्कानको गहना लगाएर
मेची काली र कर्णाली
सुस्साई रहेछन्
मेरा शिरा हरुमा
जो हर दिन मलाई उर्जा दियी रहन्छन ,
सौभाग्य बनेर कोरिएको छ
मेरो देशको नक्सा
मेरै हत्केलामा !


फरक यत्ति हो,
तपाईं स्वदेशमै हुनुहुन्छ
राष्ट्रियताको कुरा गर्नुहुन्छ,
म परदेशमा छु,
राष्ट्र सम्झेर काम गर्छु
खै कसरि पो भन्नुभो
मैले देश बिर्सें
म त देश बोकेरै आएको हुँ यहाँसम्म
म नै सिंगो देश हुँ, महोदय !

बिहुँकोट, ४, बाग्लुङ्ग
हाल: ओवर्न, एन.एस.डब्लु !

(यो अनेसास सिड्नी च्याप्टरले आयोजना गरेको अष्ट्रेलिया व्यापी कविता महोत्सवमा प्रथम स्थान प्राप्त गर्न सफल रचना हो ।)

पाठकको प्रतिक्रिया
अन्य कविताहरू