मुख्य पृष्ठ » कविता » कैद, तिम्रो ओठ !

कैद, तिम्रो ओठ !

लेखक
निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

तिमी
चिया पसलबाट उठेर गएपछि
गिलासको बिटमा
एउटा ओठ छोडेर गएछौ
मात्र एउटा ओठ

तिमीलाई त यो पनि थाहा छैन
तिमी
चिया पसलबाट उठेर गएपछि
मैले तिमीले बाँकिराखेको चिया पिउन खोज्दा
तिमीले छोडेको एउटा ओठमा
मेरो ओठ जोडिन नपाउँदै
तिम्रो ओठ लत्पतियो
मेरो ओठमा सर्यो
तिम्रो ओठको अलिकति रंग
चिया पसले हाँस्यो
बिचराले मेरो ओठमा
तिम्रो ओठको लिप्स्टिक देख्यो
मात्र लिप्स्टिक !

तिमी
चिया पसलबाट उठेर जाँदा
खै के लिएर गयौै ?
म भने
चिया पसलेसँग
दुइसय रुपियाँमा
तिम्रो लल्पतिएको ओठ किनेर फर्किएँ ।
चिया पसले फेरि हाँस्यो
सोच्यो होला
मुर्खले
जावो सिसाको गीलासलाई
दुइसय रुपियाँ तिर्यो ।

मेरो इच्छा छ,
तिमी मेरो घरमा पस्दा
सिसाको फ्रेमभित्र कैद तेही गीलास
र आफ्नै ओठ
तिमीले चिन्नेछौ
र मलाई मुर्ख ठान्ने छैनौ ।

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू