मुख्य पृष्ठ » कविता » दिनको हैरानी

दिनको हैरानी

लेखक
सुदीप पाख्रिन
नाम : सुदीप पाख्रिन
  सुदीप पाख्रिनका रचनाहरू

समयको हाँगामा सुरक्षित
वर्तमानको निरीह र टिठ्लाग्दो गुँडलाई
एक्काशी आएर
हल्लाउनु हल्लायो
र निर्ममतापूर्वक खसालिदियो
राक्षसी यादहरूका आँधीले ।

र, कुनै ग्लानी बिना    
कुनै पश्चाताप बेगर नै
लुसुक्क............ छाडेर गयो ।

भूइँभरि छरिएर रहेका छन्
आँधीले हल्लाई झारेका
टुटेफुटेका सपनाहरू
आधीअधुरा रहरहरू
अनिच्छित केही इच्छाहरू
र छ विकृत अनुहारको वर्तमान

हैरान हैरान छ दिन
हेरेर प्रतिविम्ब आफ्नै— वर्तमानको ऐनामा ।

बर्षौदेखि सुरक्षित ठानिएको बन्द कोठामा
चूपचाप रहेका यी चैन र आरामलाई
केही यादहरू आँधी भैmँ आए
घिस्याउँदै लगे फर्कि आउन नसकिने कुनै रहस्यमय जंगलतिर

अचम्भित हुँदै
सोचिरहेछ दिन
एकसुरमा कुनै कवि झैँ
“तानाशाहका क्रुर सिपाहीहरू झैँ
संवेदनहिन विद्रोहीहरू झैँ
यति निर्मम किन छन् हँ, यी यादहरू ?”  

पाठकको प्रतिक्रिया
अन्य कविताहरू