विश्वास

देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ ।

देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ
मात्र विश्वासमा ।

त्यही विश्वासमा
निर्बलहरू बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
गरिबहरू धन माग्दै ऋण गरी बोका काट्छन्
दुःखीहरू सुख माग्दै रुइकराइ भागल गर्छन्
विश्वास यति घाति छ कि !
नाथे ढुङ्गाले पनि
यसरी मान्छेको शोषण गर्छ ।

(साभार: खोलाको गीत)

पाठकको प्रतिक्रिया
अन्य कविताहरू