मुख्य पृष्ठ » कविता » नयाँ सपना

नयाँ सपना

साँघुरा बाटाहरू
हिँड्दै गए
फरक हुँदै जान्छन् भनी
पैतालाहरू छाडेर आएँ

घैयाको जीवनरस चुसेर बसेका झारहरू
उखेली बस्नु भनी
हातहरू छाडेर आएँ

डाँडापाखा
जो छोडिएको थियो
त्यतै फुल्यो गुराँस
कसरी फुल्न सकिन्छ यसरी अफ्ठ्यारोमा
हेर्नु भनी
आँखाहरू छाडेर आएँ

समय बेईमान भएको छ
क्ति बेला हान्न सक्छ चक्कु र चिर्न सक्छ
तर नचिरोस् देशको, चिरोस् बरु यही भनी
छाती छाडेर आएँ

घरछेउको गोरेटोमा पर्खी बसेकिरहिछ प्रियसी जून
लैजाऊ पर नदी किनारमा
र भर जीवनको असीम आवाज भनी
हृदय दिई पठाएँ

आँगनछेउ काभ्राको हाँगाका ‘पोखरा जाऊँ चरा’लाई
यी ओठहरू राख
भर्नू गीत र गाउनू भोलि सखारै भनी आएँ

तब बाँकी नै के थियो र
विरहको सुसेले सिवाय
कहाँ विसाऊँ भन्दै थिएँ
टुप्लुक्क आइन् आँगनमा अँधेरीबुढी
बेलाइन् काखमा र भनिन्
सुस्तरीसुस्तरी पलाउनु रातभरि
रुखका शाखाहरूमा मसिनामसिना मुनाझैँ
नयाँ सपना

पाठकको प्रतिक्रिया
अन्य कविताहरू