मुख्य पृष्ठ » कविता » क्यानभासमा आमाको चित्र

क्यानभासमा आमाको चित्र

समयको क्यानभासमा आमाको चित्र बनाउँदै गर्दा,

सबै भन्दा शुरुमा
थरलाई थरसारी
जिन्दगीलाई नामसारी गर्नु पूर्व
एक धर्षो सिन्दुरले हस्ताक्षर गरेको
सिउँदो बनाएँ।

जिम्मेवारीहरूले सेतै फुलाएको केश बनाएँ,
जुन पुरानो मजेत्रोको
अङ्गालोमा मस्त छ।

विवस्ताको रङ्गहरू कुचिले उठाएँ र बनाएँ,
सपना देख्न चाहने तर देख्न बन्देज गरीएका,
आँखाहरू।

प्रतिबन्धका रङ्गहरू फेरि कुचिमा दलेँ र बनाएँ,
प्रश्नै प्रश्नले भरिएपनि,
बोल्न प्रतिबन्ध लगाईएका ओठहरू‌।

आरोपहरूको रङ्गले बनाइदिएँ
वर्षौँ देखि हजारौँ आरोपहरु सुन्दै आएका,
निर्दोष कानहरू।

अलिकति मात्रै ईज्जत अडिएको
नाकपनि बनाइदिएँ।

आकाशसँग आकाशे रङ्ग पैँचो मागेँ
र बनाइ दिएँ आकाश जत्रै,
आकाश जस्तै,
खुल्ला छाती।

जहाँ,
मडारिरहने व्यथाहरूको कालो बादल वेवास्ता गर्दै,
मेरो निम्ति
अक्सर सुनौलो सपनाका चराहरू उडाईन्छन्।

अन्तत:क्यान्भासमा आमाको चित्र त बन्यो
तर चित्रमा आमा भन्दा ज्यादा
घर,परिवार

निरङ्कुश समाज देखियो।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू