गजल

अहिले सोच्नुस् हजुर पछि महङ्गो पर्न सक्छ
माया गर्दाको कसुर पछि महङ्गो पर्न सक्छ

अरुको लै लैमा तिमी घर छोडेर पो निस्कियौ
तिम्रो सपनाको लाहुर पछि महङ्गो पर्न सक्छ

बिघौं बिघा छ भनेर टुक्राटाक्री नफाल्नुस्
सडक छेउको धुर पछि महङ्गो पर्न सक्छ

हेर्दैछु कुन खुशीले नाच्दैछ दियो समीप
पुतलीको फुरफुर पछि महङ्गो पर्न सक्छ

ख्यालख्यालमा कसैको सिन्दुरसँग नखेल्नु
चार पैसाको सिन्दुर पछि महङ्गो पर्न सक्छ ।

 

पाठकको प्रतिक्रिया
अन्य गजलहरू