मुख्य पृष्ठ » कविता » बृद्ध सपनाहरु

बृद्ध सपनाहरु

लेखक
सुदीप पाख्रिन
नाम : सुदीप पाख्रिन
  सुदीप पाख्रिनका रचनाहरू

जब जब 
घरमुनिको 
नरिवलको बोटको हाँगामा बसेर 
एक हुल कागहरु दिक्कै लागुन्जेल 
'काग काग' कराउँथे -एका बिहान बिहानैदेखि
तब तब 
मेरी बुढी हजुरआमाका बृद्ध आँखाहरु 
पर 
बाटोको उपल्लो छेउसम्म
परदेशीएका छोराका 
खबरहरुको आगमनको आसमा बिछिन्थ्यो 
अनि 
स्वचालित ढंगले 
केहि सपनाहरु बुनिन्थ्यो
न कुनै कुसहरु 
न त हातहरुनै देखिन्थे आँखाहरुमा 
र पनि 
बृद्ध सपनाहरु बुनिन्थे बृद्ध आँखाहरुमा 

'काग कराउनु' 
अनि 'खबर आउनु' बीच
कुनै नाता नरहे झैं 
आँखाहरु 
र सपनाहरुको पनि 
आजभोलि 
कुनै सम्बन्ध छैन 
जीवन 
र रहरहरु पनि कहिं कतै सम्बन्धित छैन
तर पनि 
जब जब 
घरमुनिको 
नरिवलको बोटको हाँगामा बसेर 
एक हुल कागहरु दिक्कै लागुन्जेल 
'काग काग' कराउँथे -एका बिहान बिहानैदेखि...

-धरान

पाठकको प्रतिक्रिया
अन्य कविताहरू