मुख्य पृष्ठ » कविता » शान्ति बन्दना

शान्ति बन्दना

अब नौलौ मान्छे देखेर-
घरका झ्याल ढोका एका एक नढप्किउन्
गुवालीमा
बाँधिएका गाईबस्तुहरू झस्किएर
दाम्लै चुँडालेर भाग्न नखोजुन्

रात रातभर
जागा नबसुन् गाम्लेहरू
नभुकुन् ननिदाई ननिदाई गाउँका चलाख कुकुरहरू
नडराउन्
गञ्जभित्रका अनादि परेवाहरू

जाउन् जूनघाम जस्ता नानीहरू
खुल्ला आकाशमा
र खेलुन् निर्धक्क ताराहरूसँग तेलकासा

गोठालेहरूले
बिना पर्बाह गाउन् हुवारे
घँसिनि दिदिहरूले
बजाउन् खर्कमा अघाउन्जेल पिपिरी

घरको असिम मायाले
सखारै फर्किउन् परदेशीहरू
पिंढिमा बास माग्दा
घरबेटी बज्यैका बिनयी हातहरूले
'अतिथि देवो भव' भन्दै दिउन् आम्खोरा भरि चिसो पानी

अनि
तल कटुस घारीमा
चरिबरिहरूले
सँधै-सँधैका लागि गाउन् : 'ॐ मणि पद्मि हुँ !!'

 

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू