मुख्य पृष्ठ » कविता » फेरि एक्लै

फेरि एक्लै

घरको भित्तामा झुण्डिएको फ्रेममा

बैँशका श्यामश्वेत तस्बिरहरू मुस्कुराइरहेकै हुनेछन्

बुइगलमा बसेर घुरिरहेकै हुनेछन् परेवाहरू

आँगनछेवैको बाँसघारिमा कलकलेको एउटा सङ्गठन

कलकल गरिरहेकै हुनेछ

तर हुने छैन त्यहाँ

सिर्फ एउटा मानिस ।



सधैको जस्तै पश्चिमतिर जानेछ घाम

फर्किनेछन् जङ्गल गएका गाइबस्तुहरू

फर्किनेछन् हँसिया, कोदालो लिएर

बारीमा गएका पर्मेलीहरू

फर्किनेछन् स्कुल वा कलेज गएका नाति नतिनाहरू

तर फर्किने छैन त्यहाँ

सिर्फ एउटा मानिस ।



सधैँ–सधै मौन बस्ने आकाश पनि

सुन्न सकिन्छ झरी परेका बेला

खोँज र पाखाहरूमाझ सुन्न सकिन्छ बरु खोला

रुखका पातहरूमाझ सुन्न सकिन्छ बरु बतास

सन्नाटाहरूमाझ सुन्न सकिन्छ बरु अँधेरी रात

तर सुनिने छैन त्यहाँ

सिर्फ एउटा मानिसको आवाज ।



त्यसरीनै

बुइगलमा बसेर घुरीरहेकै हुनेछन् परेवाहरू

बाँसघारीमा हल्ला गरिरहेकै हुनेछन् कलकलेहरू

ठिक त्यसैबेला

नातिनीको बैबाहीक उत्सव चलिरहेकै हुनेछ घरमा

लठ्ठी टेक्तै पुग्नेछौ तिमी आँगनको जग्गेमा

आर्शीबाद दिनेछौ चिरआयुको

र हठात सम्झनेछौ

आफै सङ्ग छुटीगएको

सिर्फ एउटा प्रिय मानिस ।



बिस्तारै फिर्नेछौ घरभित्र

उक्लनेछौ घरको तालामाथि

खोल्नेछौ ध्वासो लागेको टिनको बाकस

निकाल्नेछौ पुरानो डायरीमा च्यापेर राखेका प्रेमपत्रहरू

हेर्नेछौ बिहेकै साल खिचेका युगल तस्बिर

र बिस्तारै छाम्नेछौ

छातीको देबे्र पाटामा दुःखेको

सिर्फ एउटा मानिसको सम्झना ।

पश्चिमतीर गइरहेकै हुनेछ घाम

घरबाट बिदा मागिरहेको हुनेछ नातिनी

ठिक त्यसैबेला

बुढेसकालको धमीला आँखाहरू

फ्याल्नेछौ –झ्यालबाहिर

तलतल देखिनेछ खोला

बग्न थाल्नेछौ तिमी

फेरि एक्लै एक्लै ।

पाठकको प्रतिक्रिया
अन्य कविताहरू