मुख्य पृष्ठ » कविता » म ज्युँदै छु

म ज्युँदै छु

bool(false)

आँसुको भग्नावशेषबाट निस्किएर
अब–
म फूल रोप्ने छु
दियो जलाउने छु
र, दुःखको पहिरो पन्छाएर
धुलोमा हराएको
बाबाको पाइताला खोज्ने छु ।

रुँदै बोलाइहिँड्दा आमालाई
तलाउमा तैरिएको
आफ्नै छायाँले झुक्याउला
श्रद्धाले अन्जुलीमा उघाउने छु
र, आफूभित्रको कम्पनलाई रोकेर
जीवनको सुगन्ध बतासमा फिँजाउने छु
सुन !
म ज्युँदै छु ।

म ज्युँदो हुनु भनेको
घाम झुल्किनु हो
समय गतिशील हुनु हो
प्रेम, कविता या धुनहरू बाँच्नु हो
म जीवित हुनुको अर्थ
मृत्यु अमर हुनु हो
धर्तीमा धड्कन बाँकी हुनु हो ।

यो अँध्यारो खण्डहरबाट उठेर अब
म उज्यालो डाक्ने छु
प्रेम र स्वतन्त्रता बाँड्ने छु
हिँड्दा–हिँड्दै अलमलिएका पदचापहरूको
लय हुनेछु
बोल्दा–बोल्दै वाक्य बसेका बालकहरूको
आवाज हुनेछु ।

हुरी !
नउडाऊ हरियो पात
त्यो ईश्वरको आत्मा हो
जसरी देश मेरो हृदय हो
अब–
जहाँ–जहाँ भत्किन्छ देश
त्यहीं–त्यहीं घर बनाउनेछु म

ए पर्ख !
त्यसरी माटोको सिउँदो नपुछ
म ज्युँदै छु ।

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस