उनी गइन्
अब कहिल्यै नफर्किनेगरि गइन्
तर केही लिएर गईनन्
जाँदाजाँदै बरु,
केही दिएर नै गइन्
त्यो दिन, ती दरिन्दाहरूलाई
क्षणिक वासनापूर्तिका लागि आफ्नो शरीर !
समाजको निधारमा कलंकको टीका
र, एउटा प्रश्न – मेटाउन सक्छौ रु
कानुनलाई चुनौती
र, एउटा प्रश्न – दिन सक्छौ न्याय रु
राजनीतिको गालामा झापड
र, एउटा प्रश्न – के यो नै तिम्रो खेलरु
जाँदा जाँदै उनले दिएर गइन्
कविहरूलाई एउटा बिम्ब
कविताका लागि
आख्यानकारहरूलाई केही पात्र र पटकथा
सृजनाका लागि
र पत्रकारलाई एउटा स्तम्भ,
रोजीरोटीको जोहो गर्नका लागि
छैन ऊसँग अब केही
तिमी मानवअधिकारवादीहरूलाई दिन
तिमीसँग पनि त केही छैन
उसको आत्मशान्तिका लागि दिन र!
काँधमा आफ्नो रित्तो झोला भिरेर
अन्याय हेर्दै, कसले कस्तो तक्मा पायो हेर्दै
मौन हिँडि रहेछौ तिमीहरू
युगौंदेखि
लैजाऊ भरेर आफ्नो झोला
निर्मलाको च्यात्तिएको सलवार र कुर्ता हालेर
झ्यालमा अड्केको उसको पछ्यौरी हालेर
कुनामा फालिएको सेतो ब्रा पनि हाल
र, ती दरिन्दाहरूको कुकृत्यबाट त्रसित
कुनामा लुकेको त्यो पेन्टी पनि हाल
तिम्रो झोलामा
र, लैजाऊ भरेर आफ्नो झोला
कुनै गुनासो नगरी।।