दाजी,
तपैँले ‘नजा’ भन्नुभो, गइनँ ।
अनेकौँ पटक
फर्किनुपरे नि भुस्याहासरी
ढिम्किन नछाड्नु थिएछ— एम्बेसी–गेट
हुतिहारा बनिदिएर
लुरूलुरू पछि लाग्नु थिएछ— चोरबाटो
दिनैपिच्छे नमस्कार गर्नु थिएछ—
सहोदर आदरणीयलाई झैँ
कुनै टपरटुइयाँ दलाललाई !
दाजी,
जानु थिएछ—
सपना कुम्ल्याएर बसियो !
यो ऐतिहासिक धरोहरको
टुप्पोमा गाडेर मन
खूपै भइयो— विश्वको सर्वोच्च मान्छे
कुनै नेताको ठेक्कामा परेको
पूरातत्त्व संरक्षण कार्यकर्ता भइदिएर
बेस्मारी खोतलियो— मायादेवीको सुत्केरी चिहान
अग्घोरै रिस चढेको बेला
फत्फताइयो— शान्तिमन्त्र
अनि, भइयो— हत्त न पत्त बुद्ध !
रिसाउनु थिएछ
रनक्क तातेकै बेला
हान्नु थिएछ कुच्चिनेगरी—
खिया लागेको कुर्चीमाथि
जङ्गे पिल्लर
जहाँको त्यैँ सारेर
उभिनु थिएछ साँधमा— बहादुर बनेर, कान्छा बनेर
क्यै भएन दाजी
तपैँले ‘बाँचेस्’ भन्नुभो, बाँचेँ
मर्नु थिएछ— सबैभन्दा सस्तो शहादत !
ढल्नका लागि
धरहराहरू प्रशस्तै रै’छन् यो देशमा
ढल्नु थिएछ—
धराप लागेको कुनै एक धरोहरमाथि चढेर
बरु सराप्तैसराप्तै देशलाई
फरार हुनु थिएछ— देशबाटै
अनि, उल्टै बनिटोपल्नु थिएछ— सच्चा राष्ट्रवादी !
दाजी,
तपैँले ‘चुहेको छाप्रो टालेस्’ भन्नुभो, टालेँ
‘हिम्मत नहारेस्’ भन्नुभो, मानेँ
‘आमाको आँसु पुछेस्’ भन्नुभो, पुछेँ
यादहरूको धरोहरबाट ढुन्मुनिएर
आमा घरीघरी
टोकसिरहन्छिन् अचेल—
देशको लागि मर्यो भन्या हैन तेरो दाजी ?
मैले कहिले भन्न पाउने— शहीदकी आमा ?
तैँले कहिले बन्न पाउने— शहीदको भाइ ?
स्तब्ध छु दाजी !
जानु थिएछ— खाडी, अफगानिस्तान, अम्रिका
सित्तिमा पुछिबसिएछ आमाको आँखाको आँसु !!