मौनता

कसरी चुपचाप खस्छ दूवोमाथि शीत
र चुपचाप रित्तिन्छ घामको कमजोर चुम्बनमा
कस्तो आवाज सुनिन्छ-
कपास भित्तासँगको घर्षणमा,
फूल पत्थरमाथि खस्दा,
र एउटा पातले हाँगाबाट आत्महत्या गर्दा

किन यस्तो लाग्छ?
यो दिन आज मस्तसँग निदाईरहेछ,
सिमाना पारीको गोली लागेर निदाईरहेको निर्दोषजस्तो
यो मौसम रोक्किइरहेछ,
जसरी रोक्किन्छ- आन्दोलनकारीको टाउकोभित्र पड्किसकेको बुलेट
कहिले यो मौसम मौन बगिरहन्छ,
जसरी बग्छ- भरियाको निधारबाट श्रम
जसरी बग्छ- बलात्कारपछि बालिकाको योनीबाट रगत

यो समय मौनताको करङमाथि सुस्ताईरहेछ
जसरी सुस्ताउँछ- भयङ्कर भीर तल झरेको थोत्रो यात्रुवाहक
यो समय मौन हल्लाउँछ हातहरु- मुगलान बिदाईमा
मौन खसाउँछ आँखाहरु- कफिनको स्वागतमा

त्यो बादल मौन मौन खियाईरहेछ डुङ्गा- निलो तलाउमा
फुलहरु चुपचाप नाचिरहेछन्- बतासको मौन सङ्गीतमा
केही नबोली हेरिबसेकोछ लाटो घाम
पहाडको पर्दामा-हिउँको मौन चलचित्र

म पनि त मौन बसेको छु,
जसरी बस्छ रातो 'क्यानभास'मा- सेतो चन्द्र-सूर्य
म मौन मौन जलिरहेछु,
जसरी जलिरहन्छ राँको- मसाल जुलुसमा
म केही नबोली चलिरहेछु,
जसरी चल्छ दुब्लो छाल- जलाशयको छातीमा

मौनता मेरोलागि मसी बनेको छ- मसी,
जुन पोखिन खोज्छ साबधानीपूर्वक- यो माटोमा
लेखिन खोज्छ माटोभरि ठूला अक्षरहरु,
र सुनिन खोज्छ कानको जाली नै फुट्नेगरी
मौन आवाजहरु ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस