मुख्य पृष्ठ » कविता » आफैं विरुद्ध एक गुरिल्ला

आफैं विरुद्ध एक गुरिल्ला

म त्यो देशमा जन्में
जहाँ
उज्यालोले पहिलोपल्ट - नमस्कार गर्छ ।
जहाँ मैले
पालुवामै - दु:खका अनगिन्ती व्याकरण पढें
कोपिला - मै पीडाका अनेकौँ प्रश्नको सामना गरेँ
फक्रँदै गर्दा - चोटका विविध परीक्षाबाट गुज्रिएँ ।

खाने लाउने उमेरमा
मैले बोकेँ
जिन्दगीको एउटा अजङ्गको बोझ ।
सहेँ अभावको राजमार्ग - मेरी आमाले जस्तै
हार नमानी गरेँ परिश्रम - मेरा पिताले जस्तै ।

हो, मैले प्रेम गरेँ
- अतिरिक्त
- असामाजिक
- असंवैधानिक

हो, मलाई प्यार भयो
पारम्परिक मर्यादाविपरित
नैतिक आचरणविपरित

मैले
दर्ज गरेँ अभियोग पत्र आफैं विरुद्ध
आफैँलाई नियुक्त गरेँ मेरो जिन्दगीको न्यायाधीश
- आफैँ बनेँ अभियुक्त
- आफैँ भएँ अधिवक्ता
- आफैँ गरेँ ईजलाश
- आफैँ जुटाएँ प्रेम गर्ने अपराधको प्रमाण
- आफैँ गरेँ तर्कको खण्डन
र, सुनाएँ जिन्दगीको पक्षमा फैसला ।

जिन्दगीको परीक्षा उत्तीर्ण गर्न
तप, योग र बोधले तयार रहँदा
विधाता हो कि कसले हो फेरिदियो प्रश्नपत्र ।

प्रेमको गुरिल्ला युद्ध लड्दा लड्दै
हार्यो एक भूमिगत प्रेम !

ज्यान
देखिरहेछु बिस्तारै नजिक आइरहेको अन्धकार ....
तिम्रो न्यान्यो अङ्गालो र स्पर्शदेखि टाढाको एक्लो क्षितिजबाट
म उज्यालो उदाउने देशको मान्छेनजिक
अर्थात्
मेरो जिन्दगीको पहिलो र, अन्तिम सूर्यास्त !

 

- भक्तपुर

 

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस