ठोकेरै हतियारले दिनदिनै जोरिन्छ मेरो मुख
रोजै अर्जुनझैँ म पुग्छु रणमा ब्रह्मास्त्र ली सम्मुख
यो गाण्डीव पिनाकले तर कुनै हुन्नन् महाभारत
ढुङ्गामै भगवान् निकाल्दछु सखे ! औजार खोपी म त ।
मैले पाइनँ टेक्न मन्दिर कहाँ त्यागेँ र आस्था तर
मेरै हात , छिनो परेर भगवान् जस्तै बन्यो पत्थर
मेरै सीप, पुजिन्छ गाउँ घरमा देवी र द्यौता बनी
द्यौता बन्न सिके हुने जगतका मान्छेहरूले पनि ।
मेरो भक्ति उपासना त घन हो , कूची, छिनो या मसी
छाती पत्थरको म फोर्छु यसले , द्यौता नगीचै बसी
पूजा गर्छु म एक मानु पसिना पोखेर , ऊ हेर्दछ
आफू नै पनि बेचिएर भगवान् मेरो कृपा गर्दछ ।
आफैं सुन्दर सिर्जना मनुज हो , स्रष्टा उही ईश्वर
मान्छे हो ! गर सिर्जना मनुजले आँटे त के हुन्न र
हेरी सृष्टि जगत् नथाल रचना आफै सुनौलो रच
तिम्रो आकृति घोलिएर भगवान् नौलो छटा भर्दछ ।