मुख्य पृष्ठ » कथा » घाम ओर्लिएको छ सडकमा

घाम ओर्लिएको छ सडकमा

लेखक
बसन्त गौतम
नाम : बसन्त गौतम
  बसन्त गौतमका रचनाहरू

“छोरी अझै उठेकी छैन है!” म नुहाएर निक्लँदै सोध्छु उनलाई।
“उठेकी छैन। भर्खर कोल्टे फेरेर सुतेकी छे। अझै एक घण्टा उठ्ली जस्तो छैन।“
“आज पनि मलाई ढिला गराउने भई!” चिन्तित हुन्छु म।
“बदमाश बिदाको दिनचाहिँ पाँचै बजे उठेर दौडिन थाल्छे, अहिलेचाहिँ हेर न!” उनी छोरीतिर मायालु दृष्टि दौडाउँछिन्।
हामी खाजा खान थाल्छौं। हामीलाई लागेको मात्र त्यस्तो हो कि कुन्नि, बिदाको दिन छोरी चाँडै उठ्छे, अरु दिन ढिलोसम्म सुतिदिन्छे।
“उठाए हुन्छ नि अब, सात बजिसक्यो।“
“के उठाउनु, बच्चाको निद्रा, बिथोल्नु त्यति राम्रो नहोला।“ यो हाम्रो लगभग दैनिकजस्तो सल्लाह हो!

“साढे सात भईसकेछ। मलाई ढिला हुन आँट्यो, केहि गर्नु छ मैले?” तयार हुँदैछिन् उनी। एउटा कम्पनीमा इण्टर्नशिप गर्दै छिन् उनी र साढे आठ बजेसम्म पुगिसक्नुपर्छ। यो तीन महिना छोरीलाई बिहान तयार बनाएर होइकुएन सम्म लाने जिम्मा मेरो छ। बेलुका उनी लिएर आउँछिन्।
“होइकुएनमा लानुपर्ने सामान मिलाईदेउ। अरु म गरौंला।“
“छोरीको बिछ्यौना यो ठूलो झोलामा छ। पाँचवटा ओमुचु र पोलिथिनको झोला छोरीकै पहेंलो ब्यागमा छ। टि-शर्ट एउटा र कट्टु एउटा हाल्न बाँकी छ, ड्रयरबाट झिके हुन्छ।“ बोल्दा-बोल्दै उनी ढोकासम्म पुगिसक्छिन्।

म ढोका लगाएर आउँछु। पहिला उसको ज्वरो नाप्छु, अनि बेबी केयरको नोटबुकमा तापक्रम चढाउँछु। ज्वरो त छैन। अनि अझै मस्त निद्रामै रहेकी छोरीलाई ओछ्यानबाट उठाएर काखमा लिन्छु। आफू एकदम निर्दयी भएजस्तो लाग्छ मलाई र पछुतोले भरिन्छु। तर अरु केहि उपाय छैन मसंग अब। एकदम ढिला भईसक्यो मलाई।
“छोरी! बाबा! उठ त अब!” म विस्तारै बोलाउँछु, उ अझै मस्त निद्रामा छे।

एक छिनपछि उ चल्मलाउन र आँखा मिच्न थाल्छे, अनि गनगन गर्दै ब्युँझिन्छे।
“उठ छोरी अब! पापालाई ढिला हुन्छ नि फेरि!”
भर्खरै पिसाब गरेकी रहिछे। म ओमुचु निकालिदिन्छु र उसलाई एकछिन त्यत्तिकै छोडिदिन्छु। उ अझै गनगन गर्दैछे। आज अलि बढीनै झर्किरहेकी छे, सधैं यतिखेर उठाउँदा हाँस्दै उठ्थी।

म उसको हात समातेर उसलाई वाश बेसीनतिर लैजान्छु। हात-मुख धुवाएर ल्याएर पानी खुवाउँछु। उसलाई उसको सानो रंगीन कुर्सीमा राखेर, खाना खुवाउँदा लगाउने –याले भिराइदिन्छु। अनि भान्छामा गएर हतार-हतार उसको खाजा तयार पार्न थाल्छु। हल्का तातेको पाउरोटीलाई मसिना-मसिना टुक्रा बनाउँछु, लिटो भन्दा यहि चाँडो होला जस्तो लाग्छ। अनि पाउरोटी र मनतातो दूध लिएर उसको अगाडि हाजिर हुन्छु। शुरुमा दुई-चार टुक्रा सजिलै खान्छे, पछि टाउको घुमाउन र झर्किन थाल्छे। कहिले हल्का हप्काएजस्तो गरेर, कहिले गीत गाएर फकाएर, कहिले ठूलो-ठूलो स्वरमा हाँसेर उसलाई भुलाएर सबै खुवाइछाड्छु। त्यसपछि अघि बनाएर बोतलमा बाँकी रहेको दूध उसैलाई दिन्छु। उ बोतलबाट दूध पिउन थाल्छे। अनि हतार-हतार बेबी केयरको नोट बुकमा हिजो बेलुका देखि अहिलेसम्मको उसको स्वास्थ्यस्थिति, खाएको खाजा आदिका बारेमा भर्छु र आफू लुगा फेर्न थाल्छु।

आफू तयार भएर उसलाई पनि तयार पार्दासम्म आठ बज्न पाँच मिनेटमात्रै बाँकी हुन्छ। ‘समयमा त आज पनि नपुगिने भइयो।‘ मनमा यहि मात्रै हुन्छ। ‘तैपनि हतार-हतार जाँदा पुग्न पनि सकिन्छ। आठमा हिँडे भने आठ बीससम्म त पुगिहाल्छु। अनि त्यहाँ तिन मिनेट अल्मलिएँ भने पनि दौडेर गएँ भने त साढे आठको ट्रेन पक्कै भ्याउँछु।‘ बेबी केयरबाट धेरै टाढा छैन ट्रेन स्टेशन। ‘भनेजस्तो कहाँ हुन्छ र, भ्याइन्न होला।‘

उसको र आफ्नो जुत्ता निकाल्दै हुन्छु म, केहि गन्हाएजस्तो लाग्छ। दिक्क हुँदै उसलाई उचालेरै सुँघ्छु म। नभन्दै हो रहेछ, दिसा गरिछे। फेरि कोठातिरै फर्केर उसलाई कार्पेटमा सुताएर ओमुचु फेर्दिन्छु।
“बदमाश! अघि त्यतिञ्जेलसम्म नगर्नी, अहिले हिँड्ने बेलाँ गर्नी?!” म भुत्भुताउँदै ओमुचु ‘गोमी हाको’मा हाल्न बरण्डातिर निक्लन्छु।
म फर्केर आउँदा छोरी कोठामा हुन्न। हिजो सुकाएर उठाएका लुगा सबै छरेर बास्केटलाई उल्टाएर हिँडिछे। ‘सुकेकै लुगा त हुन्, के होला र?’ भनेर छोड्दिन्छु।

तर भान्छामा पुगेर छोरीले अर्को विध्वंश मच्चाइसकिछे, त्यहाँको ‘गोमी हाको’ लडाएर फोहर सबै छरेर!
“छोड्---! के ग-या यो---?” साँच्चै झर्किँदै उसलाई पन्छाउँछु म। म झर्केको देखेर ऊ रुन थाल्छे। यो पनि यत्तिकै छोडेर हिँड्न आँटेको थिएँ तर यो गर्मीमा भान्छाको फोहरलाई यत्तिकै छोड्नु हुन्न भनेर सफा गर्न थाल्छु। फोहर सबै उठाउँछु, भुईँमा लागेको दाग भने नपुछी छोड्दिन्छु।
‘अब यो तालले त नौको ट्रेन पनि छुट्छ!‘ म ट्याक्सी बोलाउँछु।

अघि मेरो हप्काइले शुरु भएको छोरीको रुवाइ ट्याक्सी आइपुग्दासम्म बन्द भैसक्छ।
“खावाइ ने!” ट्याक्सी ड्राइभर छोरीलाई हेरेर बोल्छन्। छोरीलाई काम पुग्छ, ऊ फेरि गनगन गर्दै पिरल्ने पाराले रुन थाल्छे। सधैं त हाँस्थी कसैले बोलाउँदा, ‘आज देवी चढ्या छ यसलाई!’ म फुलाउने कोशिश गर्छु।

उसलाई फुलाउँदै गर्दा मेरो मनमा धेरै कुरा चल्न थाल्छन्। धेरै दिन भईसक्यो यसरी ढिला-ढिला जान थालेको। अफिसमा कसैले ठाडै त केहि पनि भनेको छैन अहिलेसम्म, तर खासखुस गर्न थालिसके। हाकिमले पनि थाहा पाईसक्यो होला यसरी म लगातार जसो ढिला आउन थालेको। कुनदिन ‘निक्ली’ भनेर कागत दिने हो! आफैंलाई पनि आत्मग्लानि हुन थालेको छ यसरी सबैको नजरमा कामचोर देखिन परेकोमा, एक किसिमले नेपालकै छवि बिगार्ने बनिएकोमा। ‘छोरीलाई संगै राखेर गाह्रो होला जस्तो छ, नेपाल पठाउनै प-यो, नसकिने भइयो!’ दिक्क मान्दै सडकतिर हेर्छु म। अघिनै उदाएको भएपनि घाम अझै सडकसम्म आईसकेको छैन, अग्ला घरहरुले अझै छेकेका छन्।

“ उ चरी हेर त छोरी, चरी आएछ नि!” केहि गरेर पनि नफुलिएपछि बाहिरतिर देखाउँछु म। चरी देखिने न त कहाँ हो र कंक्रिटको जंगलमा!
“देतेत, देतेत----“ उसको रुवाइ अचानक बन्द हुन्छ र ऊ ताली बजाएर गाउन थाल्छे। यो ‘देतेत, देतेत----' केहि पहिले एकदिन सुत्ने बेलाँमा मैले सुनाएको लोरीबाट टिपेकी हो उसले। वास्तवमा ‘ताराबाजी लै लै---‘ बाहेक मैले जानेको अर्को लोरी त्यत्ति एउटा मात्रै हो (उसकी आमाले दशौं लोरी जानेकि छिन्! )। त्यो पनि बिर्सेको थिएँ, सम्झेको धेरै भएको छैन।

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

यो लोरी पनि मैले जानेको यत्तिमात्रै हो। यसमै म जेपनि थप्दिन्छु, जस्तो ‘आर्याच्यानले देखेछ, मिकीच्यानले देखेछ, मामुले पनि देखेछ, पापाले पनि देखेछ, अंकलले पनि देखेछ, अण्टीले पनि देखेछ---‘ आदि। अनि उसले ‘देतेत’ भन्न जानेकी छे। ‘चरी’ भन्ने शब्द सुनेपछि उ ‘देतेत, देतेत’ गर्न थालिहाल्छे।

छोरी आफ्ना साना कोमल हातहरुले ताली बजाउँदै ‘देतेत, देतेत’ गर्दैछे, उसको अनुहार उज्यालिएको छ। बाहिर अग्ला घरहरु नाघेर घाम बल्ल सडकमा ओर्लिन थालेको छ। मेरो मन पनि उज्यालिन थाल्छ। ‘किन नेपाल पठाउनु छोरीलाई?! बरु अलिक लचिलो समयतालिका मिल्ने कुनै काम खोज्छु र यो काम छोडिदिन्छु। केहि लागेन भने ‘घण्टे’* हुन तयार छु। छोरी त आफैंसंग राख्नुपर्छ----! यत्री त बनाईयो, अब झन सजिलो होला हुर्काउन---!’

अनि म पनि हल्का ताली बजाउँदै छोरीसंगै गाउन र हाँस्न थाल्छु,

आइज चरी लैजा कान
हाम्री छोरीलाई गोसाईँथान
गोसाईँथानमा के के छ?
चरीले लौरी टेकेछ-----

हामी बाउ-छोरी अचानक खुशीले गाउन थालेको देखेर चालक दंग परेर ऐनाबाट हेर्दैछन् हामीलाई।

घाम पूरै ओर्लिसकेको छ सडकमा र सडक पूरै उज्यालिएको छ।

(खासुगाई, जापान)
----------------------------------------

प्रयोग गरिएका जापानी शब्दहरु:
ओमुचु: डायपर
होइकुएन: बेबी केयर, किण्डरगार्टेन
गोमी हाको: फोहर हाल्ने भाँडो
खावाइ ने: कस्ती मायालाग्दी, So lovely भन्ने अर्थमा
--च्यान: बच्चीहरुलाई माया गरेर बोलाउँदा उनीहरुको नामको पछाडि ‘च्यान’ जोडेर बोलाईन्छ। नेपालीको 'नानी'संग नजिक छ।

*र जापानी त हैन तर त्यो ‘घण्टे’ भन्ने शब्दको बारेमा। घण्टाको हिसाबले दाम पाईने ‘पार्ट टाइम' कामलाई मैले मेरो पाराले न्वारान गर्देको:)

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस