सिड्नीमा गजल मुशयारा ! “वाह गजल ! वोन्स मोर !”

०४ सेप्टेम्बर, २०१७

“छिमेकीले अन्तरिक्षमा यान पठाउँछ
मेरो देशले खाडीमा जवान पठाउँछ

बिहे पछि भर्खर बिदेश गएको छोरोले
आमा बिर्सन्छ श्रीमतीलाई सामान पठाउँछ”

गणेश गौतम का यी दुई शेरहरू जस्तै सफल गजल मुशयारा आइतबार हिजो सिड्नीमा सम्पन्न भयो ।

प्रदिप चापागाईं, पार्वती पहारी, बिष्णु प्रसाद अधिकारी, केशव शर्मा, नैना निर्झरा, बिष्णु प्रसाद अधिकारी, गणेश गौतम लगायतका ११ गजलकारहरूले गजल वाचन गरिरहँदा श्रोताले हरेक गजलमा वाह ! वाह ! मिसाइरहेका थिए । बिष्णु प्रसाद अधिकारीलाई त झन् श्रोताकै अनुरोधमा तलको गजललाई दोहोर्याएरै वाचन गर्न कर लाग्यो ।

"छिमेकीले जहाज बनायो रकेट बनायो
हाम्राले सबै खायो टमक्क पेट बनायो

साबधान, सँगै खेल्नेहरूसँग पनि साबधान
आफ्नै साथीले मेरो चंगा चेट बनायो

भोली देखि दुई छाक किन्न पनि मुश्किल हुनेछ ।
आज फेरी सरकारले नयाँ बजेट बनायो

यो ब्यस्त शहरमा समय यति चाँडो बितिरहेछ
लाग्छ कसैले घण्टालाई नै मिनेट बनायो"



प्राय सिड्नीमा हुने साहित्यिक कार्यक्रमहरूमा आसन ग्रहण र अनावश्यक औपचारिकताबाट असन्तुष्ट साहित्य प्रेमीहरूका लागि शायद यो कार्यक्रम खोजेजस्तै माहोल थियो । गजलकार जितेन्द्र मल्लको संयोजकत्वमा आयोजित गजल मुशयारामा आशिष श्रेष्ठको गजल गायनका साथमा कविता आचार्य र निखिला चापागाईंको नृत्यलाई पनि समायोजन गरिएको थियो । कार्यक्रम सिड्नीको एसफिल्ड पोलिस क्लबमा भएको थियो भने कार्यक्रमको संचालन रामकान्त न्यौपानेले गरेका थिए । 



तस्विर: रवि कँडेल

पाठकको प्रतिक्रिया