मामा घर

bool(false)

           साउनको महिना झरि नपरेपनि चारैतिरको थुम्काथुम्कीमा सेतो बादल देखिन्थ्यो।जस्ले गर्दा ति नाङो डाँडाहरु कपाल फुलेको मेरी हजुरआमा जस्तै देखिन्थे । साउने संक्राती हुनु पर्छ,आमा मामा घर जान तयारीमा देखे पछि मैले नि कम्मर् कसें ।“बाटोमा हिँड्न सकिन्न घरैमा बस” भन्दै हुनुहुन्थ्यो आमा।म कहाँ मान्थेँ र! आमा निस्किनु अगावै घरमाथि सालघारीमा पुगेर आमालाई कुरि रहेँ।त्यही नजिकै सालको रुखमा न्याउली कराउँदै थियो ।गुलेली बिर्सेछु चुक चुक लाग्यो।आमा नि आईपुग्नु भो ।चोरी औँला टोक्दै आमा पर्टी फर्केर मुस्कान दिएँ,आमा नि मुर्छा परेर हाँस्नुभो मेरो बठ्याँई देखेर र भन्नु भो” हेर यो चोर त अघि नै आएर पो बसि राख्या रहेछ!छि: छि: कपडा हेर यस्को चेपाङ जस्तै देखेको छ।"
मलाई कपडाको कुनै वास्ता थिएन।जसरी हुन्छ मामा घर जानुथ्यो,तर एउटा कुराले भने अघोरै चिन्ता पारेको थियो ।अघिल्लोदिन मात्रै मैले जाङी(कट्टु) फटाएको थिएँ पुर्णे संग भकुण्डो खेलेर। कहिले आमाको अघि अघि कहिले आमाको पछि पछि गर्दै हिड्थें। बाटो वरिपरीका फूलहरु टिप्दै केहि खल्तीमा हाल्थेँ , केहि कानमा सिउरिन्थेँ।बाटोमा भेटिएका चिल्लाचिल्ला स- सानु ढुङ्गा पनि खल्तिमा हाल्थेँ।कहिले पानी परेको दिशातर्फ फर्केर थुक्थेँ...|
मामघर पुग्नसाथ आमा भित्र नपस्दै भित्र पसेर सबैलाई ढोगेँ।सेतो बादल शिरमा बोक्दै उभिएको पहाड झै देखिने गरि हजुरआमा कुनाको खाटमा हुनुहुन्थ्यो।अनि सोध्दै हुनुहुन्थ्यो छर(नयाँ) लामा आइपुग्यो ?म नि नजिकै गएर बसेँ। म मर्दा मेरो किरिया गर्ने लामा भन्दै मलाई सुम्सुम्याउन थाल्नु भो । भोलि पल्ट बिहानै मामाको छोराछोरी सबै स्कूल गएछन् । माम घरमा काम गर्ने तिन जना चेपाङ भएता पनि आमा नि गाउँले आइमाईहरुसँग घाँस काट्न जान लाग्नु भाको देखेर म नि कचिया र नाम्लो खोज्न थालेँ। सात बर्षको हुँदो हो,भिरमा” जान सक्दैन यतै खेल्नु “ भनेर बिचमै मलाई छाडी आमाहरु गीत गाउँदै माथि भिर तिर लाग्नु भो। त्यस्तै 30 मिनेट पछि मेरो हात काट्यो, वनै थर्किनि गरि रोएँ । म रोएको सुनेर आमा नि हाम्फालदै आउनु भयो र” नआउ भन्दा मानेन “ भन्दै एक झापट गालामा हान्नु भो अनि आफ्नु नयाँ पटुकी काट्न थाल्नु भो मेरो घाउमा बान्नलाई ।“यहीँ बस म घाँस काटेर आउँछु” भन्नुभएर आमा मास्थिर (माथितिर) लाग्नु भो ।म तित्र चरा झैँ त्यहिँ बसि रहेँ ।कुहिरो भित्र पारिपट्टी कामी गाउँमा मजस्तै बच्चाहरु कोहि रुँदै थिए त कोहि
धानको बाला मै मरि जाला
मेरो माया कहाँ बसि रोइराला
भन्दै गीत गाउँदै थिए। नजिकै ठुलो चिप्लो ढुङ्गा थियो म पनि मास्तिर आमा पट्टी फर्केर त्यहि गीत गाउन थालेँ।
धानको बाला मै मरि जाला..।त्यतिखेरै मेरो उध्रेको कट्टु (जाङी)को प्वालबाट चिसो बतास भित्र छिर्दै थियो सुलुलु ...।
चिप्लो ढुङ्गामाथि चढेर हात काट्ने कचियाले ठुङ्दै गीत गाउँदै थिएँ,कोहि हाहा हाँसेको अवाज सुनेँ।माथि फर्केर हेरेको फुस्फुसाउँदै गरेको हुस्सुभित्र हात्ती झैँ देखिने घाँसको भारी बोक्दै आमाहरु आउँदै हुनुहुँदो रहेछ।सबैजना ले म बसेको ठाउँम भारी बिसाएर थकाइ मार्नु भो ।“रुने मान्छे त गीत गाउन नि आउदो रहेछ नि?”भन्दै प्याकुली बिक दिदीले अँठ्याउनु भो।अनि मैले ठुङ्गेको ठाउँ हेर्दै “लौ ढुङ्गामा नाम नि लेखेछ। “भन्नुभयो ।
त्यतिखेर आमाले नि घाँसको भारि बिसाइ सक्नु भएकोथ्यो।“छि!यो बाँदरको मुख हेर,आँशुसँगै रगत नि दलेछ” भन्दै मलाई आमाले तान्नु भो र आफ्नो लुङीको सप्कोमा थु थु गर्दै मेरो मुख पुच्छनु भो।सबैको भारी हुँदा मेरो नहुँदा म रुन्छ भन्ने आमालाई थाहा थियो।त्यसैले एकैछिनमा एकमुठा घाँस मेरो लागि तयार पार्नु भो।आफु जस्तै सानु घाँसको भारी देखेर म नि रमाउँदै हातको औँला टोक्दै मुस्कुराई रहेँ।बाटैभरि कहिले मामघर पुगुँला र आफ्नु घाँसको भारी मामलाई देखाउला भन्ने कुराले पिरोली रह्यो।त्यसैले खुट्टाको चप्पल चुरा झैँ हातमा लाएँ र कुँदे पुतुतु ओरालो।हामी पुग्नु अगावै चेपाङहरुले गोठमा घाँस बिसाईसकेको थियो र आमाले पनि भैँसी माउ नजिकै बिसाउनु भो। तर म चाहिँ लागे गोठ छोडेर मामघर तिर मामलाई खोज्दै ।दक्षिणीमोडको पिँडीमा बसेर माम हुक्का चिलिम तमाखु तान्दै हुनुहुँदो रहेछ ट्वार ट्वारर्। नजिकै पिँडीमै मैले घाँसको भारी बिसाई दिएँ।“लौ मेरो नातीले घाँसको भारीपनि ल्याइ पुर्याएछ । ओइ सुनमाया यहाँ आईजो त यो घाँसको भारी उता गोठमा पुर्याइ देउ । यो रुम्बा खलक आइ पुगे पछि कोहि बस्न मान्दैन। न दिदी चाहिँहरु, न बाउ चाहिं । सबै काम गर्न अघि सर्छ”भन्दै माम फत्फताउँदै हुनुहुन्थ्यो। भर्खर स्कूलबाट आइपुग्नु भाको सूनमाया दिदी पनि बाहिर आउनु भो र” आमामामा सम्धीको भारी मैले बोक्न सक्छ र?” भन्दै गिज्याउदै नसकेको झैँ गरी दुईहातले उचाली लानु भो। म लाजले पानी पानी भएँ। किन कि सुनमाया दिदी देखि मलाई सारै लाज लाग्थ्यो।म लाजले मामको पछाडी लुकेँ।घाँस गोठमा पुर्याइवरी फर्कि आई सुनमाया दिदीले गिज्याउदै “बुडीभैँसी छेउमा बिसाउनु पर्छ नि सम्धी कहाँ बुढीमाम छेउमा बिसाउनु भाको? “भन्दै झन् गिझ्याउन थाल्नु भो म झन् लाजले उध्रेको कट्टुको प्वाल बाट हावा नै नछिर्ने गरि दुबै खुट्टालाई बढो जोडले कसेर जोडदै मामको पछाडी लुकेँ,मामले उडाउनु भा'को तमाखुको धुवाँ हेर्दै आकाशमा ।
 
साँच्चै लाज भन्ने कुरा त जति महशुस गर्यो उति ठुलो लाग्ने रहेछ |मुस्किलले हातको कान्छी औंला छिर्न सक्ने उध्रेको मेरो जंगीको सानु प्वाल निक्कै भयंकर ठुलो झैं महशुस हुँदै थियो| शायद साँझ सुत्दा लाजले त्यहि प्वालमा हातले छोपेर सुतेकोले होला बिहान बिउँझिदा हात त्यसरी नै थियो भने कुना पटी फर्केर कुकुर सुताई सुतेको रहेछु |चिसो बतासको स्पर्स र फूलको रस खाने फिस्टे चराको तिखो स्वर कानमा ठोंकिदै थियो |आँखा खोलि हेरें,उज्यालो भै सकेछ ,उज्यालो प्रकासले कोतार्दै थियो घरको भित्ता | छेउ पटी सुत्नु भएको आमा देखिन | सम्झे आमा आज नि घाँस काट्न जानु भएछ क्यारे!खरले छाएको भए पनि मामको घर दुइ तले निक्कै ठुलो थियो र माथि बरण्डा (मटन) निकालिएकोले हामी त्यहीं सुतेका थियौं| अल्छी मानि मानि भर्याङ्गको छेउमा आइ तल चियाएँ| माम बुढी कराइमा दुध तताउँदै बाँसको ढुङ्ग्रोले फु....फु...गरि फुक्दै हुनुहुँदो रहेछ |चरी लौरी टेक्दै प्राय मेरो घरमा आउनु हुन्थ्यो माम,त्यसैले मलाई लाज डर लाग्ने थिएन|तल ओर्लेर अँगेना छेउमा माम नजिकै बसें|मामले भुल भुल उम्लीदै गरेको दुध चरेसको एक डबुका हाल्दिनु भो |बायाँ हातको औंला काटेकोले धारमा गइ राम्ररी हातै नपखाली दायाँ हातले छ्याप छ्याप मुखमा पानि छ्यापि आइ दुध पिएँ | 'अरु “सबै स्कूल पढन गइ हाल्यो अब तिमि चाहिं घरमै पढ्नु” भनेर मामाको छोरा छोरीको किताब निकालेर दिनु भो मामले |दुध खाको तागत निकाल्दै भट्याउन थालें हावा हावामा मुखमा जे आउँछ त्यहि| हातले किताबको पाना पल्टा झैं गर्थें आखाले चोरी चोरी मामलाई हेर्थें अनि मुख चाहिं निक्कै ठुल ठुला आवाज निकालेर पढे झैं गर्थें |बेला बेला माम मुसु मुसु हाँस्दै गर्नु भएको मैले छड्के आँखा लाएर हेर्दै थिएँ |पढे जस्तो गर्दा गर्दै हिजो कामि गाउँका बच्चाहरुले गाउने गीत-"
धानको बाला मै मरी जाला,
मेरो माया कहाँ बसी रोइ रला'
मेरो मुखबाट फ्याट खुस्कि हाल्यो | माम मुर्छा परेर हाँस्नु भो |अनि छर लामा (नयाँ लामा) बाट मलाई नक्कले लामा भन्न थाल्नु भो | म लाजले पानी पानी भएँ |त्यति नै खेर आमा ढोकामा झुल्किनु भो | आमा तल्लो घर कान्छा मामा कहाँ जानु भएको रहेछ आमाले ल्याउनु भएको रक्सीको खालि बोतोल लिनलाई | हातमा झोला बोक्दै'बाबु अब घर जानु पर्छ बाबाले मार्नु हुन्छ |त्यत्रो भैंसी,बाख्रा के के भो” भन्दै आमा फत्फताउन थाल्नु भो|मामले नि खान तयार पारि सक्नु भएको थियो | खान बस्यौं| "दिदीले धुम्सी कुखुराको चल्ला लाने भन्दै थियो तिमीले बोक्न सक्छौ त नाती?"भन्नु भो मामले|साँच्चै कस्तो अचम्मा!काँडा उम्रेको जस्तो कुखुरा|सक्छु भनेर कुखुरा लखेट्न थालें| ठूलो समाउन सकिन, सानु चल्ला भने नि लान्छु भन्दै चिप चिप गर्दै गरेको चल्ला अँठ्याए |”पर्दैन मर्छ” भन्दै आमा कराउदै हुनुहुन्थ्यो |तर मैले छाड्दै छाडिन| एउटा हातमा कुखुराको चल्ला अर्को हातको औंला काटेकोले मामलाई ढोग्दा गोडा नटेकेर निउरे जस्तो घोप्टो परे|बदमास बतास,त्यहि बेला सिरिरिरिरी..... गरि उध्रेको कट्टुको प्वाल बाट छिर्यो | बाटै भरि चल्लालाई फट्यांग्रा,कितिर्की किराहरु खोज्दै खुवाउदै आमाको पछी दौडी रहे|बर्षायाम कहिले पुर्बी क्षितिज कहिले पश्चिम कालो बादल झरी बोक्दै हामी तिर आउँदै थियो | आमा मलाई त्यहि कालो बादल देखाउदै” छिटो आ छिटो” भन्दै भाग्दै हुनुहुन्थ्यो| नभन्दै साल घारीमा हामीलाई पानीले भेट्यो| रुझेको मुसा झैं हामी आमा छोरा पानीमा नि आफ्नो गन्तब्य तिर लम्की रह्यौं|जाडोले कुखुराको चल्ला आँखा चिम्म पर्दै थियो| “ला! अब मर्छ “ भन्दै हुनुहुन्थ्यो आमा| त्यसरी आँखा चिम्म गरेर मर्न लागेको चल्लाको मल्द्धर (चाक)मा फुकेको देखेको थिएँ पुर्नेको आमाले,त्यसरी नै कुखुराको सुली आउने ठाउँमा मुख जोडेर जोडले फुक्दै कुंदे ओरालो|पिलिक्क पछाडी फर्केर हेर्नु भो आमाले,मेरो त्यो चर्तिकला देखेर हाँस्दै “थु थु...बाँदरलाइ घिन नि लाग्दैन “भन्दै भाग्दै हुनुहुन्थ्यो| घर नि आइ पुग्यो | गाइ बाख्रा बानीवरी दिदीहरु पढ्दै हुनुहुदो रहेछ |बाबा नि आफ्नै खोपामा लामा किताब(छ्योई)पढ्दै हुनुहुन्थ्यो| मेरो हातको चल्ला देखेर दिदीले “मेरो चल्ला” भन्दै झम्टिन आउनु भो,मैले नि “ नाई मेरो” भन्दै अँठ्याए | एक पटक चिप भनेको सुनेको थिएँ मरी सकेछ | चिसोले होला भनेर अगेना छेउमा लागेर राखेको चलेन| त्यो देखेर दिदी रुनु भो म नि आँखा भरि आँशु बोक्दै उभेर निकै बेर हेरी रहें| हामी घर आइपुगेको थाहा पाउनु भएर बाबा नि खोपा बाट निस्किनु भो र मलाई देखेर भन्नुभयो "थुइक्क चेपांग!! सन्दुसै भरि सर्ट पाइन्ट ढुसी परेको होला नांगै गएर बिजोग देखाएर आइस.................”
समाप्त |

बिरेन्द्र नगर-१, चितवन
हाल दोहा कतार |

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस