बागी सारङ्गी

लेखक : सरस्वती प्रतिक्षा
प्रकाशक : सांग्रिला बुक्स
बितरक : सांग्रिला बुक्स

विधाः कविता

 

(पुस्तकभित्रको एउटा कविता)

'तथागत, मलाई उत्खनन गर !'

तथागत ,

मलाई उत्खनन गर !

म त्यही सुजाता हुँ

जसलाई तिमीले पहिलो पटक

आफ्ना सघन उदासीहरुमा भेटेका थियौं

त्यति बेला

हाड र छालाको थुप्रोमा आफैलाई रूपान्तरण गरेर

हरेसको अन्तिम बुँद पिउनु अगाडि

टक्क अडिएका थिए तिम्रा आँखाहरु मलाई देखेर... ...

मान्छेहरु भन्छन्–

तिमीले सुजाताले बनाएको खिर खायौ



त्यही खीरको भरमा संबोधी प्राप्त ग¥यौ तिमीले ।

तथागत,

म सोध्न चाहन्छु तिमीलाई

के एक बटुको खिरमा

मान्छेको कायादेखि प्रज्ञासम्म बदल्न सक्ने सामथ्र्य हुन्छ र ?

के एक बटुको खिरमा

मान्छेलाई भगवान्मा बदल्न सक्ने शक्ति हुन्छ र ?

तथागत,

तिमीभित्र पनि पुरिएको छ एउटा सत्य

मभित्र पनि पुरिएको छ एउटा सत्य

त्यो खिर थिएन

मैल तिमीलाई खुवाएको

पहिलो नजरमै

पहिलो स्वीकृति पस्केर गरिएको एकाकार थियो त्यो

त्यो खिर थिएन , भावहरुको चुम्बन थियो त्यो !

जहाँबाट सुरु भयो

तिम्रो आत्मबल

तिम्रो आत्मविश्वास

र तिम्रो आत्मज्ञानको कथा

त्यो प्रेम थियो मैले तिमीलाई खुवाएको र तिमीले खाएको !

तथागत,

सबैले भन्छन् म तिम्रो संबोधिकी उपासिका

तिम्रो महापरिनिर्वाण र धम्मपदकी उपासिका

म भन्छु–

म तिम्रो उपासिका

मेरो निम्ति

तिम्रो आँखामा उर्लने मौन संवेग र संवेगहरुकी उपासिका !

मलाई थाहा छ ,

मैले आफ्नो पूरा कथा लेखँे भने

तिम्रो सम्पूर्ण अनुहारको मानचित्र बदलिन सक्छ

सारनाथ , राजगीर , बोधगया र वैशालीमा

तिमीले छोडेका पदचिन्हरूको नजिर बदलिन सक्छ

बदलिन सक्छ,

बिम्बिसारको कफनमा

स्पर्श गर्न आइपुग्ने बेलुबन बगँैचाको हावाको गति

माद्री , मागंधी, गौतमी र विशाखाका

विश्वासहरुको गणित बदलिन सक्छ !

मलाई आधा पनि नबुझेकाहरुले

मेरो पूरा कथा लेखे

अब म आफ्नो आधा कथा लेख्छु आफैले

तथागत,

यो कथाको पहिलो पर्दा तिमी नै पटाक्षेप गर !

जहाँ पहिलोपटक हाम्रो भेट भएको थियो

म पुरिएकी छु निरन्जना नदीको छेउछाउमा कतै

निरन्जना नदीमा बग्दै आउने

प्रणयभावहरुको पाँचौँ आर्यसत्यले पुरिएकी छु

तिम्रो ध्यान , अर्धध्यान र ध्यानरहित मुद्राका

नखिचिएका तस्बिरहरुको अवशेषले पुरिएकी छु

तथागत,

मलाई उत्खनन गर । मलाई उत्खनन गर । ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस