भागेर भूगोलभरि

लेखक : रमेश सायन
प्रकाशक : शब्दहार क्रिएशन्स
बितरक : शब्दहार क्रिएशन्स

जम्मा पृष्ठ : ८०

मूल्य : २००

 

पुस्तकभित्रबाट :

 

जागिर


म एक निजी कम्पनीको कारिन्दा हुँ

यो सहरको थुप्रै
भोक र अभावको ईश्वर हो मेरो मालिक ।

एकदिन मालिकसँग भनेँ -
मालिक, तपाईं मेरो भोकको ईश्वर हो
तपाईंकै वरदान हो यो जीवन
यसपालि जन्मदिन धुमधामले मनाउँछु
कामबाट बिदा दिनुस्

मालिकले भन्यो -
मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ
यो पल्ट थुप्रै काम छ
अर्को वर्ष मनाऊ जन्मदिन

मैलै हुन्छ भनेँ ।

फेरि एकदिन मालिकसँग बिन्ती गरेँ -
मालिक, तपाईं भोकको ईश्वरको पनि ईश्वर हुनुहुन्छ
तपाईंकै दयामा सजियोस् एउटा घर
प्रेमिकासँग बिहे गर्नु छ
मलाई बिदा दिनुस्

मालिकले भन्यो –
लगनहरु अझै आउँछन्
यो पल्ट थुप्रै काम छ
कुनै अर्को लगनमा बिहे गर

मैले फेरि हुन्छ भनेँ ।

एकदिन म जिन्दगीसँग औधी थाकेँ
र भनेँ -
मालिक, तपाईंले मेरा भोक र अभावहरु टारी दिनुभयो
धन्य छ तपाईंलाई
अब मलाई मर्न दिनुस्

मालिकले भन्यो -
ठीक छ
आज थुप्रै काम छ
सप्पै सक
र भोलि मर ।

   

     **

परिचय


मलाई वर्षौदेखि राम्ररी चिन्ने मित्रहरूमध्ये एकले भन्यो
- तँ मूर्ख छस्
- घमण्डी छस्
मलाई हो जस्तो लाग्यो

अर्कोले भन्यो
- तँ विद्वान् छस्
- असल छस्
मलाई यो पनि हो जस्तो लाग्यो

फेरि अर्कोले भन्यो
- तँ निष्ठूर छस्
- असामाजिक छस्
मलाई सोह्रै आना ठीक लाग्यो

फेरि अर्कोले आएर भन्यो
- तँ पागल होस्
- अराजक छस्
- तँ लाई जिन्दगी पटक्कै सुहाउँदैन ।
यो पनि मलाई केही हदसम्म ठीक लाग्यो

अन्त्यमा मेरी प्रेमिका आइन् र भनिन्
- तिमी साँच्चै मूर्ख हौ
- घमण्डी छौ
- विद्वान् छौ
- निष्ठूर छौ
- असामाजिक छौ
- र पागल पनि हौ
त्यसकारण तिमी सिङ्गो मान्छे हौ
म एक सिङ्गो मान्छेलाई औधी प्रेम गर्छु ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस