सर्वज्ञ र सेक्स

लेखक : किशोर पहाडी
प्रकाशक : साझा प्रकाशन
बितरक : साझा प्रकाशन

बिधा: कथा (दोस्रो संस्करण)

"भीड र प्रतिभा" शृंखलाका ४ कथा सहित अन्य १३ कथा संगृहित पुस्तकको मूल्य रु १५१ छ |

****


कथाको प्रभाव सधैँ एकनास नहुन सक्छ । व्यक्तिको मुड अनुसार पनि कथाको प्रभाव परेको हुन्छ । तर कतिपय कथा जतिखेर पढे पनि त्यसको प्रभावमा कुनै अन्तर हुन्न । कथाकार किशोर पहाडीका कतिपय कथा यस्तै छन् । उनका 'तिम्रो कथा लेखें शमसेर', 'विशुदाइ', 'घर-खण्डहर', 'जाँड र जाँडका कीराहरु' र अन्य केही कथा कुनै पनि बेला पढ्दा पनि उत्तिकै मिठास प्राप्त हुन्छ ।
नेपाली कथासाहित्यमा किशोर पहाडी बेग्लै प्रकारले कथा लेख्ने कथाकारका रुपमा चिनिन्छन् । पात्रको चरित्र र विषयलाई रहस्यात्मक ढंगले रोचकतापूर्वक लेख्नु, पाठकलाई कथाको अन्त्यसम्म तानिरहनु सक्नु उनको कथाको विशेषता मानिन्छ ।
उनै कथाकार किशोर पहाडीको "सर्वज्ञ र सेक्स" कथासंग्रहको दोश्रो संस्करण भर्खरै प्रकाशित भयो ।

कथाकार किशोर पहाडीको "घर-खण्डहर", "बाँच्नु र बाँचेकाहरु", "कथाकोण", "विशुदाइ" र "किँवदन्ती" पछि भर्खरै आएको "सर्वज्ञ र सेक्स" आफ्नै परम्पराको निर्वाहमा छुट्टैपन भएको पछिल्लो कथा संग्रह हो । "घर-खण्डहर"देखि शुरु भएको कथाकार पहाडीको कथायात्रा "सर्वज्ञ र सेक्स"सम्म आइपुग्दा परिवर्तनको कुनै ठूलो मोडबाट नगुज्रिंदै आफ्नै शैली र प्रस्तुतिको परिमार्जित रुपमा निरन्तर उकालो लागेको देखिन्छ । परिवर्तनको कुनै ठूलो मोडबाट नगुज्रिकनै कुन कारणले भने कथाकार पहाडीले "घर-खण्डहर"देखि नै कथामा जसरी र जुन प्रकारले विषयको चयन र त्यसको प्रस्तुति गर्दै आएका छन्, त्यसमा खासै परिवर्तन भने छैन तर रोचकता एवं रहस्यात्मकसहितको परिमार्जन भने अवश्य परिलक्षित हुन्छ ।
किशोर पहाडीका कथाहरुको विशेषता भनेको उनको शैली र विषयलाई आफ्नै पाराले प्रस्तुत गर्नु हो । वाक्यैपिच्छे कथाका पत्रहरु खुल्दै जानु र रोचतकताको वृद्धि हुनु उनको कथाको प्रमुख पक्ष हो भने यता आएर कथाकार पहाडीले सामाजिक विषयबोधका कथामा ग्राम्य परिवेश, यौनजन्य विषय तथा प्रतीकात्मक सन्दर्भलाई पनि व्याप्ति दिएका छन् । यसैगरी व्यंग्यात्मकता पनि कथाकै आवश्यकताको रुपमा प्रयोग भएको पाइन्छ । 'डोरी', 'अचानक', 'भीड र प्रतिभा', 'निकटता' आदि कथामा सामाजिक विसंगतिसंगै व्यंग्यात्मकता पनि आवश्यक रुमपै गाँसिएर आएको छ ।
यस संग्रहमा कथाकार पहाडीले आफ्ना कथाहरुलाई चार विषयमा बाँडेका छन् । 'वर्तमान विखण्डित गाथा', 'उपेक्षित ग्राम्य जीवन', 'मांसपिण्डको प्रयोग' र 'भीड र प्रतिभा' अन्तर्गत बाँडिएका यी कथाहरुका विषय छुट्टाछुट्टै भइकन पनि प्रायः सबै कथामा वर्तमान समयको अतृप्ति र विसंगति बोधको एउटा सूत्र गांसिएको छ ।
कथाकार पहाडीले "सर्वज्ञ र सेक्स"का कथाहरुमा केही प्रयोग गरेका छन् भने जनजीवनका अत्यन्त सामान्य विषयलाई पनि अर्थवत्ता दिएर मानवीय भावनालाई संप्रेष्य गरेका छन् । 'प्रतिनिधि र प्रतिनिधिहरु', 'कालो कालो एकदम कालो प्रकाश' र 'सर्वज्ञ र सेक्स'मा प्रयोग मात्र होइन प्रतीकात्मकता पनि छ । 'प्रतिनिधि र प्रतिनिधिहरु'मा अचेल देशमा वर्गीकृत तीन थरिका मान्छेहरुको चरित्र छ जसको प्रस्तुति पूरै प्रयोगात्मक छ । यसभन्दा भिन्न प्रयोगको प्रयास 'कालो कालो एकदम कालो प्रकाश' र 'सर्वज्ञ र सेक्स'मा गरिएको छ । 'कालो कालो एकदम कालो प्रकाश' कथा कुनै एउटा कथामा मात्र केन्द्रित छैन । यो वास्तवमा कथैकथाको पंक्तिबद्ध कथा हो । यसका प्रत्येक वाक्य एउटा छुट्टै कथाको विषय हो । यसप्रकारको कथालेखन नेपाली कथा साहित्यमा गोपाल पराजुलीले गर्दै आएका छन् ।
'सर्वज्ञ र सेक्स'मा पनि प्रयोग छ भिन्नै पाराले । यसमा कलमको माध्यमबाट एउटा लेखक, उसकी पत्नी र त्यसको नाठोको चरित्र चित्रण गरिएको छ । अरुको मानसिकता बुझ्ने लेखकको आफ्नै पत्नीबारे अनभिज्ञता, यौन अतृप्ति र अवैध तृप्तिलाई विषय बनाइएको यस कथामा कथाकार पहाडीले कलमलाई नै प्रतीक र प्रयोगको रुपमा प्रस्तुत गरेका छन् । प्रयोगमा नयाँपन छ तर कथाकारले त्यसलाई थप महत्व प्रदान गर्न सकेका छैनन् । विषयवस्तुमा पनि नयाँपन छैन जबकि संग्रहको शीर्षक यसै कथाबाट राखिएको छ ।
संग्रहका अन्य कथाहरुमा पनि मांसपिण्ड अर्थात यौनकै विषयले महत्ता पाएको छ । 'अर्धाङ्गीनी र सिपाही' छुट्टिएका लोग्नेस्वास्नीले कसरी यौनको पूर्ति गर्छन् त्यसको यथार्थ छ । 'तासको बहाल'मा पनि मांसपिण्डप्रतिको बाल आकर्षण छ भने 'अवोध' कथामा पनि मांसपिण्डकै आकर्षणको कुरो प्रमुख छ । 'पढ्नेहरुको निम्ति यो संसार बेग्लै छ' कथामा पनि मांसपिण्डकै कुरो आएको छ ।
यद्यपि यहाँ मांसपिण्डकै बाहेक अन्य विषय पनि उत्तिकै महत्वका साथ आएको छ । 'अबोध'को बाल मनस्थिति, 'डोरी' कथामा मानसिक दरिद्रता, 'खिसी'मा पाहुना आउँदाको अप्ठ्यारो, 'अचानक'का प्रधानको सामन्तीपनले विभिन्न तह र क्षेत्रमा देखिने र भोगिने मानवीय चरित्रलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ ।
यसैगरी 'पराजित', 'निकटता', 'भीड र प्रतिभा २' आदि कथामार्फत कथाकार पहाडीले सामान्य विषयवस्तुलाई एउटा खास स्थितिमा त्यसले जीवनलाई कति अप्ठेरोमा पार्छ भन्ने कुरा बडो मार्मिक रुपले देखाएका छन् ।
यस संग्रहमा गाउँदेखि शहरसम्मका मानवीय स्थिति र नियतिलाई प्रेम, भोक, यौन, अभाव, सुख आकांक्षा द्धेष, अहम् आदि विभिन्न सन्दर्भमा कथाकारले विश्लेषण गरेका छन् । 'शहरको एउटा बंगला', 'अचानक', 'अर्धाङ्गिनी र सिपाही' तथा 'सर्वज्ञ र सेक्स' आदि कथाहरु उल्लेख्य छन् तर कथाकार पहाडीले कथालाई रोचकता प्रदान गर्ने विषयलाई मात्र ज्यादा ध्यान दिएको पाइन्छ । कथालाई झिनो विषयमा सीमित नगरी मानवीय नियति र चरित्रलाई बृहत् फलकमा प्रस्तुत गर्नुपथ्र्यो उपरोक्त कथाहरुलाई । त्यसो नहुँदा कथाहरु रोचकतामा मात्र सीमित रह्यो भने त्यसले कतिपय वस्तुस्थिति गौण हुन पुगेको छ ।

-ध्रुव मधिकर्मी

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस