घामकिरी

लेखक : नयनराज पाण्डे
प्रकाशक : साग्रिंला बुक्स
बितरक : पाण्डुलिपि बुक्स, साग्रिंला बुक्स

 

पुस्तकभित्रबाट :

अब ! राजा भर्तृहरि पनि छैनन् । रानी पिङ्गला छैनन् । तबेलाको घोडीसित सम्भोग गर्ने र रानी पिङ्गलालाई गुप्त रुपमा यौनसेवा प्रदान गर्ने भनिएको सइस पनि छैन अब । असमयनै वृद्ध भएको ब्राह्मण या पतिबाट विरक्तिएकी ब्राह्मणी पनि छैनन् । देहव्यापारबाट विरक्तिएकी रसमञ्जरी पनि छैन । सबै क्रमशः कालको ग्रास बने र संसारबाट विलीन भैसके । राजा भर्तृहरिको मूल कथा र त्यसको सत्यतथ्यसित चलखेल गर्ने इतिहासकारहरु पनि त छैनन् अब ! तर मायावी अमृत फल फेरि पनि यो संसारमा बाँकी छ । आजपर्यन्त पनि बेलाबेला यो अमृत फल गरीब देशका मनुवाहरुको हातमा परिरहन्छ र यसको असरले उनीहरुलाई चमत्कारपूर्ण र मायावी संसारमा फनफनी रिँगाइरहन्छ । अब चमत्कार यही फलले देखाउँछ । यही फलको सेवनपश्चात् तँभित्र जागृत हुनेछ माया र प्रेमको भावना ।”
बाबाले आश्वस्त गराए मलाई ।
 
बाबाजीका शब्दहरु दूरदर्शनमा प्रसारित हुने विज्ञापन जस्ता थिए । तर पनि मैले अब उनीसित तर्क गर्नु उचित ठानिनँ ।
 
“यो विश्वका सात आश्चर्य के हुन् ?” अघोरी बाबाले प्रश्न गरे । सजिलो प्रश्न । ताज महल, पनामा नहर, मिश्रको पिरामिड, एम्पायर स्टेट बिल्डिङ, ग्रेटवाल, ह्याङ्गिङ गार्डेन र भिक्टोरिया फल्स । मैले जवाफ दिन मात्र के लागेको थिएँ, बाबाले रोकिदिए ।


“अहिले जवाफ दिनुपर्दैन । यो फल खाएर जवाफ दिनू ।” यति भनेर उनले मयूरको प्वाँखको कुचोले मेरो शिर थपथपाए ।
 
“चिन्ता नगर्, अब तेरो दिमाग ठीक ठाउँमा आउँछ ।”
 
आशीर्वाद दिइसकेपछि बाबाजी चीडको रुखमा आड लागेर लघुशङ्का गर्न थाले । मेरो ध्यान आफ्नो हातको फलमै थियो । निकै बेरसम्म पनि उनी फर्केर नआएपछि मैले लघुशङ्का गर्न गएको स्थानतिर हेरे“ । उनी त्यहाँ थिएनन् । कतै थिएनन् । उनी अन्तध्र्यान भैसकेका थिए । बाबाजी अन्तध्र्यान भएको ठाउँमा तीन वटा अचम्मका कुरा थिए— चीडको हाँगामा तुर्लुङ्ङ झुन्डिएको खरानीको पारदर्शी वस्त्र, उनको गुप्ताङ्गको एकचौथाइ भाग ढाक्ने लँगौटी र नेपाल सरकारबाट जारी गरिएको पासपोर्ट, जसमा बाबाजीको सुट र टाईमा सजिएको फोटो टाँसिएको थियो । त्यसको पछिल्लो पानामा युरोपका विभिन्न देश र
अमेरिकाका भिसा लागेका थिए ।
 
चौथो अचम्मको कुरा पनि थियो भुइँमा । परिवार नियोजनको अस्थायी साधन । एक जोडी कन्डम ।
 
मनमा प्रश्नहरु उब्जिए । के यी अघोरी बाबाले पनि सेवन गर्छन् प्रेम र वासना जागृत गराउने मायावी फल ? पासपोर्ट र भिसा लिएर के यी पनि प्रेमकै खोजीमा भौँतारिइरहेछन् देशदेशावर ? के खरानी यिनको आवरण हो ? के संसारको हरेक मानिस यस्तै आडम्बर लिएर बाँचिरहेको छ ?
 
तर मैले कुनै पनि प्रश्नको जवाफ पाइनँ । यी अघोरी बाबा मेरो जीवनमा कस्तो खालको विम्ब, प्रतीक र मिथक बनेर देखा परेका हुन् भन्ने कुरा मेरा लागि सधैँ रहस्य नै रहिरह्यो ।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस