स्मृति कथामा सत्व

लेखक : अर्चना थापा : सम्पादन
प्रकाशक : अक्षर क्रिएशन्स नेपाल
बितरक : स्मृति कथा (२४ जनाका स्व-अनुभूती)

पृष्ठः २४८ | मूल्यः ४५०

 

जेहिठिना रहले, सेहिठिकार


- प्रमोद मिश्र

 

पुस २०७६ मा तुला नारायण शाहसँग म मधेस यात्राको पहिलो दिनमा थिएँ । झापाको घैलाडुब्बामा एउटा राजवंशी भेलामा मैले राजवंशी भाषामा कुराकानी गरेँ। मेरा सहयात्री शाहले पछि मलाई भन्नु भयो, “तपार्ईँँ बोल्दा बोल्दै भावुक हुनु भयो ।”


सानोमा म राजवंशी समुदायमा हुर्केकाले र मेरो पहिलो नाता सम्बन्ध त्यही समुदायले गर्दा बनेकोले त्यही कुरा गर्दा एकछिन मेरो गला अवरुद्ध भएको थियो । शाहको भनाइले मलाई आफ्नोे अतीतमा पुर्यायो..


मेरो जन्म भारत र नेपालको बोर्डरमा भयो । बुबा र आमा दुवैका परिवार कट्टर जातीवादी र रूढिवादी थिए । बाह्रवर्षमा एक सन्तान सहित विधवा भई सोह्र वर्षपछि भरिलो उमेरमा आमाले बुबालाई भेट्नु भएको थियो र प्रेममा बाँधिनु भयो । बुबा र आमाको यो अवैध सम्बन्ध परिवार र समाजलाई स्वीकार्य थिएन । किनकि यो सामाजिक इज्जत÷प्रतिष्ठाको बर्खिलाप थियो । उनीहरुको सम्बन्धले गर्दा दुवै परिवारमा छोराछोरीको विवाहमा समस्या हुने र जातसमाजबाट वहिष्करणमा पर्ने डर थियो । आफ्नोे परिवार, समाज र नाताकुटुम्बबाट धपाइएकी आमालाई बुबाको परिवारले पनि खेदो गरेको थियो । त्यही स्थितिमा एक ठाउँबाट अर्को ठाउँ सर्ने क्रममा मेरो जन्म एक जना परिचितको घरमा भयो । बुबा नेपाल, भारतको असाम, दक्षिण विहारको कोइलाखानी क्षेत्र र ढाका सहित बंगालमा रहेका चेलाहरूलाई दीक्षा दिनुहुन्थ्यो, पुराण लाउनु हुन्थ्यो र सबै ठाउँबाट तीर्थयात्री बटुलेर चारधाम लानु हुन्थ्यो । बुबाको अनुपस्थितिमा बुबाका दाजुभाइले आमालाई धपाइसके पछि मलाई कहिले गंगामा डुबाएर, कहिले मेलामा छाडेर, त कहिले बरौनीनेरको सिमरिया पुलमा गुडिरहेको ट्रेनबाट फालेर मार्ने प्रयास गरेका थिए ।


मार्न नसकेपछि उनीहरुले मलाई एक रात तुफानमेल ट्रेनमा म निदाइरहेको बेला छाडे र आफ्नोे घर फर्के । कलकत्ता र बरौनी बिच झाझा भन्ने ठाउँमा प्रहरीले मलाई बेवारिसे अवस्थामा भेट्टाए । खोज्दै अभिभावक आउँछन् कि भन्ने सोचेर मलाई केही दिन प्रहरी स्टेसनमै राखे । साढे दुई वर्ष जतिको म आफ्नोे नाम भन्न नसकेर ‘मिसर’ सम्म भन्न सक्थेँ रे र म मुसहर समुदायको हुँ भन्ने उनीहरूले लखकाटे । मैले गाउने गरेको मैथली गीत, “भोला बाबा हो, पुरा न भेलै हमरो मन के आस” सुनेर मलाई भोला भन्न थालियो ! कसैले मलाई लिन नआएपछि राजेसर भन्ने राजपूतले मलाई चार हजारको कागज गरेर आफ्नोे गाउँ लिएर गए । उनका छोरी मात्र थिए, छोरा थिएनन् । म अठार वर्षपछि फेरि त्यस गाउँमा पुग्दा त्यहाँका मानिसहरुले मलाई भन्थे, म त्यस अपरिचित ठाउँमा यति रुन्थेँ रे कि उनीहरुलाई म बाँच्दिन भन्ने लागेको रहेछ। त्यहाँ बस्दै जाँदा म त्यहीँको भाषा ‘हेठार’को भोजपुरी बोल्न थालेँछु ।


म हराएपछि बुबाले मलाई खोज्न ठाउँ ठाउँ भौँतारिनुभएछ । केही महिनाको अथक प्रयासपछि म भएको ठाउँमा पुग्नुभयो । तेतिन्जेल मैले बोल्ने भाषा मैथली पुरै बिर्सेको रहेछु। आफ्नोे बुबा भनेर नचिने पनि मलाई उहाँ आफ्नै कोही मान्छे जस्तो लाग्यो र म उहाँसँग घर फर्किन तयार भएँ । घर पुग्नु भन्दा पहिला बाटोमा बुबाले मलाई नुहाइदिनु भयो र तानतुन पारेर तेल लगाइदिन खोज्दा मलाई बेस्सरी रिस उठेछ । मैले बुबालाई भोजपुरीमा हाने, “बहानचोद, तु हमरा चिन्हत नैख ! हम ताहार टाँग तुड देब ।” यो त सर्प पो भयो भन्ठान्नु भएछ बुवाले र मलाई एक झापड हान्नु भयो । त्यस ठाउँमा मेरी आमासित ‘बहिना’ लगाएकी एउटी धनाढ्य महिलाले, जसलाई पछि म महन्थाइन मौसी भन्थेँ, बुबालाई रोक्नु भयो, “भो, न कुट्नुस्, पंडितजी ! बच्चा हो, बोल्न जानेन । यसलाई के थाहा तपार्ईँं बुवा हुनुहुन्छ कि को !”


बुबाले मलाई त्यही दिन आमा बसेको ठाउँमा ल्याउनुभयो । बुबाको परिवारले मलाई ट्रेनमा छाड्नु अघि आमालाई पनि खेदेका थिए । आमा मोरङको गिर्दलिया भन्ने ठाउँमा सदसरी नाम गरेकी एक जना राजवंशी विधवाको घरमा शरण पर्नुभएको रहेछ । त्यो ठाउँ त्यति बेला जङ्गल थियो । त्यहाँबाट विराटनगर हिँडेर जान पुरा एक दिन लाग्थ्यो । राजवंशीहरुको बस्ती बिच शेरसिंहको आँगनमा सदसरी बस्थिन् । सदसरीले आफ्नोे फूसको घरमा आमालाई बस्न दिएकी थिइन् । मलाई फर्काएर त ल्याइयो तर मैले बोलेको भोजपुरी लवज सुनेर आमालाई आफ्नोे छोरा फर्केर आएको जस्तो लागेनछ। अरू कसैको बच्चा हो कि ! छोरो त मैथिली बोल्छ, यो कसको बच्चा लिएर आउनुभएछ भन्ने भयो आमालाई । उता म पनि नचिनेकी, अर्कै भाषा बोल्ने, स्तनपान गराउन खोज्ने महिलाको अनुहार टुलुटुलु नियाल्थेँ । गाउँको केटा हाम्रो आँगनमा आउँदा मैले उसलाई भोजपुरी लवजमा भने, “साले, बहानचोद, तु हमार अगँनामें का करत हव ?” अनि छेउको कर्चीले जिउभरि सुम्लैसुम्ला निस्किनेगरी कुटेँ । अपशब्द र क्रन्दन सुनेर आमा घरभित्रबाट निस्किनु भयो र मलाई ढिकीमा डोरीले बाँधेर चारपाँच घन्टासम्म राख्न्नु भयो ।


बिस्तारै राजवंशी भाषा बोल्न थालेँ र भोजपुरी बोल्न छाडेँ । आमालाई पनि ‘माई’ न भनेर ‘आई’ भन्न सुरु गरेँ । एकदिन बोर्डर नजिक बस्ने तिनै महन्थाइन मौसी बडा रवाफका साथ आफ्नोे सम्पनी गाडी (रंगिन कपडाले छोपेको, बैलहरुको सिँङ सिँगारेको, घुँघरु लगाएको बयलगाडा) मा बसेर आमालाई भेट्न आइन् । मलाई माया गरिन् । भोलिपल्ट उनी आमासित कुरा गर्दै थिइन् । मलाई भोक लाग्यो र मैले आमासित खाना मागेँ, “आई, मोक खावा दे । मोक भोक लागिसे । मेरो बोली सुनेर उनी आमासित पड्किइन् ।


“बहिन, अहाँ की करैछि? ई जंगलमें आइबके जंगली भ गेलौं ! अपन भाषा, संस्कार नै सिखावैछि? ऐहिना छोइड देब त ई बच्चा जंगली भ जायत” र मलाई भनिन् “साला ! तुम अपनी माँ को आई कहते हो ! खबरदार, जो आजके बाद मेरी बहनको आई कहा तो !?” उनले गाली गरेको दिनदेखि म घरमा आमासित मैथली र बाहिर अरुसित राजवंशी भाषामा कुरा गर्न थालेँ ।


आमाको आफन्त कोही नभएकाले सदसरी राजवंशीलाई सोध्नुभयो, “मैले तपार्ईँँलाई आमा भन्दा हुन्छ?” सदसरीलाई पहिला त अपठ्यारो लागेछ, “तिमी पंडितकी स्वास्नी । म तिमीलाई आमा कसरी भनाउनु?” तर एक दुई दिन पछि भनिन्, “तिम्रो कोही छैन । हुन्छ, आमा भन।” आमाले सदसरी राजवंशीलाई आमा भन्ने बितिक्कै उनी मेरी ‘नानी’ भइन् र उनका परिवार र नाता कुटुम्बहरू सबै मेरा मामा, ठुलीआमा, सानीमा, दाजु र भाइ भए । यसरी राजवंशी समाज मेरो आफ्नोे भयो ।


म पाँच वर्ष जतिको हुँला । पल्लो गाउँमा बस्ने सदसरी नानीकी भतिजीको छोरा लेलकुच्चाको विवाह हुने भयो । उनी मेरा दाजु पर्ने । उनको विवाह मान्न म पनि नानी र आमासित गएँ। ”जानेवाले जरा हो होसियार” गीत बज्दै थियो बैलगाडाको लाउडस्पिकरबाट। त्यहाँ सबैका लागि भोजको व्यवस्था थियो। सन्ठीको बेराले बारेर भुईँमा फर्स (सेतो कपडा) ओच्छ्याएर खाना खुवाउने व्यवस्था गरिएको थियो । मामा, दाजु, भाइ र अरु राजवंशी समाज लहरै बसेको ठाउँमा म पनि फर्समा बसेँ । तरी (जङ्गल) बाट जङ्गली केराको पात ल्याएर त्यसमा भात, दाल, तरकारी, मासु बाँडियो । खाना सुरु गर्नुभन्दा पहिला घरका मूलीले काँधमा गम्छा र भरी अम्खोरा पानी लिई उभिएर सबैलाई बन्दगीनेहोरा गरे र आतिथ्यमा कमी कमजोरी भएमा क्षमा माग्दै खाना सुरु गर्न अनुरोध गरे । मैले खान आफ्नोे पहिलो गाँस उठाएको मात्र के थिएँ कसैले मलाई औल्याउँदै भन्यो, ”यो बच्चा कसको हो?” ‘फलानोको छोरा’ भनेर परिचय पाउने बित्तिकै मलाई त्यहाँबाट उठाइयो र भनियो, “यो त नोसाक (गैर राजवंशी) हो । हामीहरूसँग बसेर कसरी खाना खान सक्छ ?” त्यहाँबाट निकालिएकोले रुँदै म आमा भएको ठाउँमा पुगेँ । म रोएको देखेर आमाले सबैलाई गाली त गर्नु भयो तर मैले एक्लै बसेर बरान्डामा खाना खानु प¥यो। कलिलो उमेर भए पनि त्यस दिन मलाई थाहा भयो म राजवंशी भाषा त बोल्छु, मेरा नानी, मोसी, मामा, दाजुभाइ भए पनि समाजका नजरमा म राजवंशी होइन ।


म स्कुलमा जान सुरु गर्दा त्यहाँ हिन्दीमा मनोहर पोथी भन्ने किताब पढाइन्थ्यो। पछि मात्र महेन्द्रमाला पढाउन थालियो। महेन्द्रमाला भाग २ मा एउटा वाक्य थियो जसले मेरो ध्यानाकर्षण गर्यो। “विनोद एउटा असल केटा हो ।” म सानोमा साह्रै चकचके थिएँ र नाम पनि प्रमोद भएकोले मलाई लाग्थ्यो प्रमोद होइन, विनोद मात्र असल केटा हुन्छ । घरमा भाइ जन्मेको थियो । मैले उसको नाम विनोद राखेँ किनकि मेरो बुझाइमा विनोद नामको केटा असल केटा हुन सक्थ्यो । भाइ केही महिनामा बित्यो। नेपाली किताब पढन मलाई साह्रै गाह्रो हुन थाल्यो र तीन कक्षामा फेल भएँ ।


सदसरी नानी कसैसित मिलेर बस्न नसक्ने । सबैसँग उनको झगडा पथ्र्यो । त्यो ठाउँ छाडेर नानी अर्कै बस्तीमा बस्न जानुभयो । आमासँग उनको मन मिले पनि बुबासित उनको ठ्याक नमिल्ने । कुनै बेला नानीले बुबालाई दोहमाना हाटमा कुँवा खन्न तीनसय रुपया दिनु भएको रहेछ तर बुबाले कुँवा खन्नु भएन छ। रिसाउँदा उहाँ भन्नु हुन्थ्यो, “दखिनाठगले कुवाँ बनाएन ।” बुबासित गुनासो रहे पनि उहाँले आमालाई आफू सरेको ठाउँमा बस्न बोलाउनु भयो । उहाँ बसेको ठाउँ मुसलमानको बस्ती थियो । त्यहाँ आजान पढ्ने मौलवीले साँझबिहान बच्चाहरुलाई पढाउँथे । बङ्गाली मुसलमान मौलवीको सङ्गतमा मैले अरबी, उर्दू र बङ्गाली भाषा सिक्न थालेँ । केही दिनको अध्ययनले मलाई बङ्गालीमा हनिफ खलिफाका कथा पढ्ने लायक र अरबीका अक्षर चिनाउने बनाएको थियो । चार कक्षामा पढ्दा त्यहाँ मैले कक्षा टप गरेँ । तर केही समयपछि त्यो मौलवी त्यहाँबाट हिँडेपछि मेरो उर्दू र बङ्गाली भाषाको सिकाई त्यहीँ रोकियो ।  


चार क्लासदेखि अङ्ग्रेजी पढाउन दार्जलिङबाट घुमघाम गर्दै पिके राई भन्ने नयाँ गुरु आए । उहाँको व्यक्तित्व एकदम प्रभावशाली थियो । सेतो चश्मा, सेता मिलेका दाँत र सुकिला पाइन्ट–सर्ट । मेरो माहिलो काकालाई स्किजोफ्रेनियाले दुई दुई वर्षमा भेट्थ्यो । उहाँलाई रोगले च्याप्दा उहाँ आफ्नोे दाइ (बुबा) लाई खोज्दै बोर्डरबाट साइकलमा तुफान भएर आउनुहुन्थ्यो । उनको साइकलमा छालाको ब्याग झुन्डिएको हुन्थ्यो । महिला काका र पिके राईले अङ्ग्रेजी बोलेको सुन्दा मेरो अङ्ग्रेजीप्रतिको रुचि झन् बढेको थियो ।


छ क्लासमा पुग्दा संस्कृतको पढाई सुरु भयो। संस्कृतका श्लोक, कविता र रामचरित मानस (अवधी भाषामा) मलाई सजिलै याद हुन्थे । घरमा मैथली, साथीहरुसित राजवंशी र स्कुलमा नेपाली त बोल्थेँ नै, अङ्ग्रेजी र संस्कृत भाषासित पनि परिचित हुन थालेपनि मेरो आफ्नोे भाषा के हो भन्ने यकिन रहेन । माइला काका हाम्रो जीवनमा एकदुई पल्ट आए पनि उनी आफ्नोे जस्तो लाग्दैन थिए किनभने उनको संसारमा मेरो प्रवेश निषेध थियो । कहिलेकाहीँ लाग्थ्यो को हो म ? म राजवंशी होइन । म मैथली होइन। म अङ्ग्रेज होइन । म नेपाली बोल्ने पहाडे पनि होइन । कुन हो मेरो भाष ? के हो मेरो पहिचान ?


सात क्लासपछि गाउँको स्कुल बन्द भयो र बुबाले मलाई रङ्गेलीको अर्को स्कलमा सोधपुछ गर्न पठाउनु भयो । मारवाडीहरुको क्षेत्रमा रहेको स्कुल राम्रो तर महँगो थियो । त्यहाँ गएकै दिन मेरो जुत्ता चोरी भयो । जुत्ता चोरी भएकोले (वास्तवमा स्कुल महँगो भएकोले) बुबाले मलाई बोर्डर पारीको स्कुलमा राख्न्ने विचार गर्दा फेरि इन्डिया जानेभयो छोरा भन्ने त्रासले आमाले घरमा भोक हडताल सुरु गर्नुभयो । पछिसम्म आमा भन्नुहुन्थ्यो, “छातीमा ढुङ्गा राखेर इन्डिया पढन पठाएँ तँलाई ।” त्यहाँ हिन्दी भाषासित मेरो जम्का भेट भयो । हाइस्कुल पास गर्ने बेलासम्म हिन्दी भाषामा मेरो दखल बढेको देखेर मेरा हिन्दी पढाउने गुरुले उत्साहित गर्दै भन्थे, “अरे, तुम तो पन्डित हो गया ।”


एघार कक्षा पास गर्दासम्म मेरो रुचि हिन्दी, संस्कृत र अङ्ग्रेजी तीनवटैमा एकनास बढेको थियो । मेट्रिक जाँच लगत्तै बिरामी भएर म आमासित घर फर्किँदै थिएँ । बाटामा माहिला काका भेटिए र मलाई एउटा वाक्य “दशहरा सबसे बडा त्योहार है“” को अङ्ग्रजीमा अनुवाद गर्न भने । मैले गरेको अनुवाद सुनेर काकाले मलाई झपार्नु झपारे । त्यति बेला लाग्यो मैले अङ्ग्रजीमा निक्कै मेहनत गर्नु पर्ने छ। बिस्तारै मैले अङ्ग्रेजीमा डायरी लेख्न थालेँ । अहिले त्यो डायरी पढ्दा थाहा हुन्छ त्यो बेला कस्तो खत्तम अङ्ग्रेजी लेख्दो रहेछु !


बाह्र कक्षामा राम्रो अंक ल्याएकोले मलाई भागलपुरमा होस्टलमा बसेर पढ्ने मौका मिल्यो । होस्टलबाट विश्वविद्यालयको पुस्तकालय एक माइल जति टाढा थियो । दिउँसो टन्टलापुर घाममा जब सबै विद्यार्थी सुतेका हुन्थे, म हिँडेर लाइब्रेरी जान्थेँ र बाटोभरि एक्लै अङ्ग्रेजी भट्याउँथेँ । पिके राई र माइला काकाले बोलेको अङ्ग्रेजीको छाप मनमा यसरी गाडिएको थियो, अङ्ग्रेजी भाषा शक्तिको परिचायक हो भन्ने लाग्न थालेको थियो । केही नबुझे पनि म हेमिङवेको स्टाइल कपी गर्न खोज्थेँ र सोच्थेँ सेक्सपियरले त छब्बीस वर्षको हुँदा लेख्न सुरु गरे । म त अहिले निकै कम उमेरको छु !” मेरो सही उच्चारण सहित अङ्ग्रेजी बोल्ने प्रयासलाई होस्टेलमा बस्ने साथीहरुले जिस्काउन थालेका थिए, “देशी मुर्गी, बिलायती बोली ।” तर मलाई फरक पर्दैन थियो ।


भागलपुरमा बस्दा ताका त्यहाँका स्थानीयहरुले बोल्ने भाषा अंगिका सुन्दा सुन्दा त्यो पनि बोल्न सक्ने भएको थिएँ । एकपल्ट मेरो एउटा मैथली बोल्ने साथीसित स्टिमरमा गंगा तरेर टमटम (घोडागाडी) मा बसेर अंगिका भाषामा उसित जिस्कँदै थिएँ ।


छेउमा बसेको अर्को यात्रीले मलाई सोध्यो, “ऐहो भाईजी, तोहरो घर कहाँ छहौं ?”
मैले जवाफ दिएँ, “हमरो घर नेपालमें छिकै, भाईजी ।”


मेरो जवाफ सुनेर ऊ झडङ्ग रिसायो, “हम दुनियाके चराबी । तु हमरा चरैभो? तु हमारास झूठ बोलिरहल छहौ । तोरह घर यही पारमे छहौं ।” भाषाको कारणले कहिले म अरुको समूहमा सजिलै मिसिन सक्थेँ भने कहिले दण्ड पाउँथेँ । मेरो आफ्नोे भाषा के थियो त ?


सबैभन्दा गाह्रो लाग्ने अङ्ग्रेजीको मोह कम भएन । पछि विराटनगरमा अध्यापन थालेपछि पहिलो काम आठ सय हालेर रेडियो किनेँ र त्यसमा अङ्ग्रेजीमा घन्टौँ बिबिसी सुन्न थालेँ । एउटा कन्फ्रेन्समा अङ्ग्रेजी साहित्यका प्रोफेसर श्रीधर लोहनीसित भेट भयो र उहाँले काठमाडौं आउन सल्लाह दिनुभयो । त्यहाँ पढाउँदै गर्दा केही वर्षपछि फुलब्राइट स्कालरसिप पाएर म अमेरिका अध्ययनको लागि गएँ र त्यहीँ अङ्ग्रेजी पढाउँदै छु ।


भाषाको साथले मैले जीवनमा थुप्रै अनुभव बटुलेँ । तर अनेकौं भाषा सिक्दा र बोल्दा पनि मेरो आफ्नोे भाषा कुन हो भन्ने प्रश्न मलाई अझै जटिल लाग्छ । सन् २००७ मा मैले अमेरिकी विद्यार्थीहरूलाई भारत घुमाउने समयमा मेरी आमा खस्नुभयो । अन्तिम संस्कार गरेर जब म चेन्नाई पुगेँ, राति एक्कासि काहालिएर रून थालेँ । “के भयो” भनेर श्रीमती आत्तिइन् ।


मैले रुँदै भनेँ, “म अब मैथली कोसँग बोल्नु ?”


तर मैले बाल्यकालभर पाएको नातासम्बन्ध राजवंशी समुदायमा भएकोले र त्यस समुदायकी एउटी विधवाले अनेकौं किसिमले मेरो निर्माणमा योगदान दिएकीले सायद घैलाडुब्बाको भेलामा राजवंशी भाषामा संवाद गर्दा म भावुक भएँ ।


भोलिपल्ट साँझ हामी राजवंशी ढोलसाहना नाचको रिहर्सल हेर्न गयौँ । नृत्यपछिको संवादमा एक जना महिलाले म धेरै वर्षदेखि अमेरिका बसेको तर उनी जस्तै राजवंशी बोलेको सुनेर सोधिन्, “ताम्हा कुन् ठिकार? हेत्कार ने हुत्कार?” (कहाँको तपार्ईँं? यहाँको कि त्यहाँको?) एक छिनको अलमल पछि मैले भने, “जेहिठिना रहले, सेहि ठिकार । हेतान रहले, एहिठिकार । होतान रहले, ओहिठिकार । (जहाँ बस्यो त्यहीँको । यहाँ बसे, यहीँको । त्यहाँ बसे, त्यहीँको)। तर फेरि मनमा भयो, “म बास्तवमा कहाँको? र कुन हो मेरो भाषा र संस्कृति ?”

 

परिचयः प्रमोद मिश्र अमेरिका स्थित ड्युक विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्य र सिद्धान्तमा विद्यावारिधि गरी लुइस विश्वविद्यालयमा अङ्ग्रेजीका विभागका प्रमुख हुन्।

  

स्मृतिक्रम


अनुज पिटर | कस्तो केटीमान्छे जस्तो !
कैलाश राई | नयाँ क्षितिज
देबकी विष्ट | मध्यवर्तीको यात्रा
दौलत झा | विस्मृतिमा एक्लो
धनकुमारी सुनार | जातीय अनुभूति
नारायणी देवकोटा | असफलताका पहाडहरू
पवित्रा सुनार | जातले बिझाउँदा
पिङ्की गुरुङ | रोजे जस्तो हुन्छ जीवन
डा. प्रभादेवी कैनी | अनिच्छित आगन्तुक
प्रभा बराल | लोग्नेको दर्जा
प्रमोद मिश्र | बोली: जेहिठिना रहले, सेहिठिकार
बिना थिङ | म ‘पुतली’
बिनिता बराल | बदनाम वाइन
बिष्णु सापकोटा | साइकल ‘इपिफेनी’
रञ्जना निरौला | पीडादेखि सपनासम्म
राधा पौडेल | मृत्युपछिको राजनीति
रीता साह | फर्केर हेर्दा
रुद्र चुडाल | मर्द बन्ने सङ्घर्ष
रोजिता बुद्धाचार्य | आमा र सगरमाथा
लाक्पा फुटी शेर्पा | चुचुरो नजिक एक्लै
सञ्जीव उप्रेती | स्मृतिका झिल्का
सरिता तिवारी | फरुवाको लय
सुदीप गौतम | जीवन मृत्यु र पुनर्जीवन

 

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस