च्याउको जङ्गल

लेखक : बिप्लब ढकाल
प्रकाशक : याम्बुरी बुक प्वाइन्ट
बितरक : याम्बुरी बुक प्वाइन्ट

मूल्य रू १८१

 

पुस्तकभित्रका केही कविता :

 
 
च्याउको जङ्गल
 
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल
 
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा
 
तिमीहरुले
चामलको दानामा लेखेछौ मेरो इतिहास
सागको पातमा लेखेछौ मेरा गीतहरु
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई
 
म गर्छु अब समुद्र मन्थन
र पिउँछु हलाहल विष
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि
महादेवको घाँटीबाट निकालेर
म लाउँछु अब सर्पको मफलर
 
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले
आफ्नै रगतको घुट्काले भिजाएको छु घाँटी
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म
मेरो खप्परभित्र केही छैन— विचारशून्य छु म
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टकटक्याइदिन्छु
 
केही बिस्कुटका खोल
रोटीका टुक्रा, चप्पलको फित्ता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट
 
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लड्ढा
 
के थाहा तिमीहरुलाई—
मभित्र कसरी उम्लिरहेको छ खरानी
के थाहा तिमीहरुलाई—
म किन निदाउन सक्दिनँ रातभरि
 
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई
खरानीबाट उठेर क्षतविक्षत कड्ढालहरु
आफ्नो जीवनको मूल्य माग्दै लखेट्छन् मलाई
म झन्डाले मुख छोपेर आँसु पुछ्छु
 
संसार बदल्न हिंडेको म
अब आफैं बदलिएँ
यो च्याउको जङ्गलभित्र
रि“गटा लागिरहेको छ मलाई
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु—
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म
 
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा र बनाउँछु रोटी
त्यही रोटीको गोलाकार सुरुङबाट बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा

 

हल्ला
 
कक्षाकोठाभरि हल्ला छ
किन पढ्दैनन् नानीहरु
 
म इतिहास पढाउन खोज्छु
उनीहरु जङ्गली चरा जस्तै हल्ला गर्छन्
म गणित पढाउन खोज्छु
उनीहरु पहाडी खोला जस्तै हल्ला गर्छन्
म भाषा पढाउन खोज्छु
उनीहरु भाषा नै लाटो हुने गरी हल्ला गर्छन्
म ‘हल्ला नगर’ भन्छु
उनीहरु फेरि हल्ला गर्छन्
 
सायद म बाँचेको समयमा नै
कुनै गम्भीर त्रुटि हुनुपर्छ
नत्र यो हल्ला कसरी ‘हल्ला’ हो र
यो हल्ला आफैमा एउटा विचार हो
यो हल्ला आफैमा एउटा जीवन हो
र यो हल्ला आफैमा एउटा सपना हो

नानीहरु
म पनि अब
तिमीहरुसँगै बसेर हल्ला गर्छु


 
 
फुलमतीको तकियामुनि
 
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरूको नाम भेटेँ
 
मलाई बल्ल थाहा भयो—
मेरो बाबु अचेल किन
ऐना मात्र हेर्नुहुन्छ
र माछाको टाउको खानुहुन्छ
किन हरायो आमाको मङ्गलसूत्र
र स्कुलबाट काटियो मेरो नाम
 
म बुझ्दै छु—
किन मेरो बाबुको अफिसमा
राति अबेरसम्म मिटिङ हुन्छ
र भान्छाकोठामा
झोक्राइरहनुहुन्छ आमा
 
किन यार्सागुम्बाझैँ
आधा झार
र आधा किरा जस्तो देख्छु
बाबुको जिन्दगी
 
स्कुलमा अचेल
गुरू किन जोक भन्नुहुन्न
र कुर्सीमा बसेर उँघिरहनुहुन्छ
म बुझ्दै छु—
गुरू किन अचेल
रामायण र महाभारतका
नीतिकथाहरु मात्र भन्नुहुन्छ
 
मेरी आमालाई थाहा छैन—
बाबुको कोटमा अल्झिएको
कपाल कसको हो
र केको सुगन्ध आइरहेछ
उहाँको शरीरबाट
मेरा साथीहरुलाई थाहा छैन—
गुरूको कलरमा लागेको
दाग केको हो
र किन हराउँदै छ मुस्कान
उहाँको ओठबाट
 
कसैलाई थाहा छैन—
फुलमतीको तकियामुनि
कसकसका नामहरु भेटिन्छन्
तर मलाई थाहा छ—
बाबु र गुरू त भगवान् हुन्
दुवै महान् र पूजनीय छन्
दुवैले मलाई एउटै सत्य सिकाउँछन्
र एउटै सुगन्ध आउँछ
हाम्रो शरीरबाट
 
फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरूको नाम भेटेँ
अन्तिम हरफमा खोज्दै जाँदा
मैले मेरो आफ्नै नाम भेटेँ ।।।

पाठकको प्रतिक्रिया
अन्य किताबहरू
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस